विजयपुरको डाइभर्सन : बाढीले बगाएको विषयमा सडक डिभिजन र सिंचाई कार्यालय बीच जुहारी !

दीननाथ बराल, पोखरा न्यूज – ०५, साउन । पोखराको मुख्य बजार क्षेत्रको प्रमुख प्रवेशद्धार विजयपुरमा अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन पुल पुनः निर्माण गरिएको छ । गए राति विजयपुर खोलाको वाहबले पुलको केही भाग बगाए पछि सडक डिभिजन कार्यालय पोखराले आजै डाइभर्सन पुल पुनः निर्माण गरेको हो ।

विजयपुर खोलामा अस्थायी डाइभर्सनको रुपमा पटक/पटक खोलाले बगाउदा सडक डिभिजन तथा चाइनाको सिएएमसी कम्पनिले पुन:निर्माण गर्दै आएका छन् । यस सिजनमा पुल खोलाले दुई पटक बगाएको छ । आइतबार बिहान करिब ८ ट्रक माटो राखेर रोलर लगाए पछि करिब साँढे २ घण्टामै डाइभर्सन पुल संचालनमा आएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि पोख्रेलले बताए ।

दोस्रो पटक पुलको माटोको केहि भाग मात्र खोलाले बगाएकाले तत्काल माटो राखेर पुल संचालन गर्न सकिएको उनले जनाए । १२ दिन अघि खोलाले करिब एक सय मिटर तलसम्म हिमपाइप नै बगाउने गरी डाइभर्सन पुल बगाएकोे थियो ।  पटक पटक डाईभर्सन पुल बगाउदा सडक डिभिजन कार्यालय र सिंचाई कार्यालय बिच जुहारी शुरु भएको छ ।

सिंचाई कार्यालयको लापरवाहीको कारणले गर्दा दोस्रो  पटक विजयपुर खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पुल बगाएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेलले आरोप लगाएका छन्।

उनले भने “हामीले बेलुका ५ बजे देखि बिहान ५ बजेसम्म सिंचाइको पानी विजयपुर खोलामा नछाडि पानीलाई नियन्त्रण गर्न आग्रह गर्दा पनि सिंचाई कार्यालयले हामीलाई अटेर गरी राति सिंचाइको पानी छाड्दा विजयपुरको खोलामा पानीको वहाव बढी भएर अस्थायी डाइभर्सन बगाएको हो ।”  कास्कीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले दिएको निर्देशनलाई सिंचाइ कार्यालयले अटेर गरेको उनको आरोप थियो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले आफुहरुले हिजोआज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सेतीनदीबाट सिंचाइको लागि ल्याउने पानीलाई बन्द गरी नियन्त्रण गरिएको दाबी गरे ।

उनले भने “ सडक डिभिजन कार्यालयले ६/७ महिना अघि गर्नुपर्ने बेलामा सुतेर बस्ने, बर्खायाममा पानी पर्ने समयमा काम गर्दा अलि अलि पानीले असर पुर्या उनु स्वभाविक हो, काहुँखोला तथा अन्य भलपानी विजयपुर खोलामा आउने कुराको नजर अन्दाज नगरी सडक डिभिजनले हामीलाई दोष दिन मिल्छ । ”

आफुहरुले सेतीनदीको पानी आउने मुहान याम्दीदेखि नियन्त्रण गरी बाँकी पानीलाई नयाँ गोरख गण (फुलबारी व्यारेक) बाट सेतीनदीमा निकास गर्ने गरेको उनले जनाए । डाइभर्सन बगाए पछि १० टन भारबान क्षमताका गाडीहरु आइतबार विहान केही समय विजयपुर व्यारेक हुदै गगनगौडा लगायतका क्षेत्रमा लाइन लागेर रोकिनु परेको थियो ।

गण्डकी प्रदेशको राजधानि पोखराको मुख्य बजार क्षेत्रको प्रवेशद्धरमा मोटरेबल पुल चर्केकोले १० टन भारवान क्षमताका मालबाहक सवारी साधनहलाई रोक लगाएकोले गर्दा अस्थायी विकल्प डाइभर्सन पुल निर्माण गरिएको हो । डाइभर्सनको विकल्पमा पोखराको विजयपुर खोलामा हाल बेल्लीब्रिज (पुल) निर्माणको अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका संचालक उद्धव राईले बताए । उनका अनुसार ढिलोमा ५ दिन भित्र उक्त पुल संचालन हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button