पोखरा विजयपुर खोलाको डाइभर्सन २४ घण्टा नबित्दै बाढीले फेरी बगायो

पोखरा न्यूज – ०६, साउन । पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले तेस्रोपटक बगाएको छ । गएराति विजयपुर खोलामा आएको बाढीको बहावले डाइभर्सनको ह्युमपाइपहरु बगाएको हो ।

शनिबार बेलुका बाढीले डाइभर्सनको केहि भाग बगाएपछि आइतबार बिहान पुनः निर्माण गरेर यातायात सुचारु गरिएको डाइभर्सन २४ घण्टा नबित्दै बाढीले पुनः बगाएको हो । यसअघी पनि १३ दिन अगाडि बाढीले डाइभर्सनको ह्युमपाइप बगाएपछी पुनः निर्माण गरिएको थियो ।

पृथ्वीराजमार्ग अन्तर्गत पोखराको चाउथे र विजयपुर जोड्ने विजयपुर खोलामाथि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँएपछी ठूला भार क्षमताका यातायातका साधन आवतजावत गर्न बनाइएको डाइभर्सन पटक पटक बाढीले बगाउदा यस्ता यातायातका साधनहरु समस्यामा परेका छन् ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा हुदै स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा जाने मालबाहक ट्रकको लाइन लाग्ने गरेको छ ।

पटक पटक डाईभर्सन पुल बगाउदा सडक डिभिजन कार्यालय र सिंचाई कार्यालय बिच यतिवेला जुहारी शुरु भएको छ । बेलुका ५ बजे देखि बिहान ५ बजेसम्म सिंचाइको पानी विजयपुर खोलामा नछाडि पानीलाई नियन्त्रण गर्न आग्रह गर्दा पनि सिंचाई कार्यालयले अटेर गरी राति सिंचाइको पानी छाड्दा  डाइभर्सन पुल बगाएको सडक डिभिजन कार्यालय पोखराले आरोप लगाएको छ ।

सिंचाई कार्यालयले भने  सेतीनदीको पानी आउने मुहान याम्दीदेखि नियन्त्रण गरी बाँकी पानीलाई नयाँ गोरख गण (फुलबारी व्यारेक) बाट सेतीनदीमा निकास गर्ने गरेको बताउदै सडक डिभिजन कार्यालयले ६/७ महिना अघि गर्नुपर्ने बेलामा नगरेर सुतेर बस्दा बर्खायाममा पानी पर्ने समयमा काम गर्दा समस्या भएको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button