खोइ महानगर पोखराका बसमा इ-टिकेटिङ ?

श्याम रानामगर, पोखरा न्यूज। लेखनाथका शेषमणी पौडेललाई बसमा दिनहुँ पोखरा आउजाउ गर्नुपर्छ । वैशाखदेखि नगर बसमा इ – टिकेटिङ सिस्टम लागु हुन्छ र सहज रुपमा यात्रा गर्न पाइन्छ भन्ने उनले विश्वास लिएका थिए । ‘खै त वैशाखदेखि नगर बसमा इ टिकेटिङ लागु हुन्छ । कार्डबाटै पैसा तिर्ने सह चालकसँग कचकच गर्नै पर्दैन भनेर खुसि भएको, अहिलेसम्म चढ्न पाइया होइन,’ निराश हुँदै उनले भने, ‘यो देशमा जनतालाई जे भन्दिए नि भएकै छ ।’ इ टिकेटिङ सुरु भई सकेपछि आफ्नो टोलमा कार्डबाट बसको पैसा तिर्ने पहिलो व्यक्ति बन्न पनि कस्सिएका थिए उनी । तर, अब नगर बसमा इ टिकेटिङ सुरु हुन्छ  भनेर विश्वास लाग्नै छोड्यो, उनलाई ।

लेखनाथकै विद्यार्थीद्वय सन्तोष मौरेल र सफल पराजुलीले पनि नगर बसमा इ टिकेटिङ लागु हुन्छ भन्ने सुनेपछि दगं थिए । ‘डिजिटल सिस्टम लागु हुने भयो भनेर एकदमै खुसि थिए,’ नगर बसमा कइ टिकेटिङ लागु हुने बारे पढेको खबर सम्झिदै सन्तोषले भने, ‘विदेशमा बुबालाई पनि सुनाएको थिए । तर, ऐलेसम्म सुरु हुने सुरसारै देखिन्न ।’ दुबै जना लेखनाथबाट बसमै क्याम्पस (पृथ्वीनारायण क्याम्पस) पुग्छन् । भाडाको विषयमा कैयौं चोटी सह चालकले बचन लगाएको नमिठो अनुभव पनि छ उनीहरुसँग । इ टिकेटिङ सुरु भइ सकेछि सहज यात्रा गर्न पाइने विश्वास उनीहरुको पनि थियो । तर, अहिले भने उनीहरु त्यति उत्साहीत छैनन् । नगर बसको यात्रा यस्तै हो भन्ने बानी परि सकेको छ ।

पोखरा महानगर भित्र चल्ने बसमा ‘इ टिकेटिङ’ (विद्युतिय कार्ड) बाट पैसा तिर्ने सिस्टम सुरुआत गर्ने महानगरको योजनाले उनीहरुलाई मात्र होइन अरु पोखरेलीलाई पनि खुसि बनाएको थयो । तर, बैशाखको पहिलो साताबाटै लागु गर्ने भनिएको इ टिकेटिङ अहिलेसम्म सुरु भएको छैन ।

गत वर्ष चैतमा पोखराका बस व्यवसायी र काठमाडौंको ‘एनक्लाउड’ नामक कम्पनीसँग समेत वैशाखदेखि नगर बसमा विद्युतीय टिकट (इ–टिकेटिङ) लागू गर्ने सम्झौता गरेको महानगर आजकाल मौन छ । मेयर मानबहादुर जीसीले एक कार्यक्रमकाबिच विद्युतिय कार्डको डेमो पनि देखाएका थिए । उक्त सम्झौताअनुसार वैशाखदेखि पोखराभित्र चल्ने नगर बसमा ‘इ–टिकेटिङ सिस्टम’ सुरु हुनु पर्छ । तर, महिनौ बितिसक्दा पनि महानगरको कुनै मेसो देखिएको छैन । इ टिकेटिङ लागु गरेर यात्रु र सवारी धनी दुवैलाई ठग्ने, ठगिनुबाट बचाउँने लक्ष लिएको महानगर मौन बस्नुले महानगरको काममाथि नै संशय पैदा गराएको छ ।

तर, बैंकिङ प्रक्रियाका कारणले इ टिकेटिङ सिस्टम लागु गर्न ढिलाई भएको महानगर बताउँछ । महानगरले पहिलो चरणमा १ सय ५० बसमा यो सिस्टम लागु गर्ने र पछि थप गर्दै लैजाने योजना बनाएको तर, पछि सबै गाडिमा एकै चोटी लागु गरौं भनेर काम सुरुआत गरेकाले ढिलाई भएको महानगरका यातायात शाखा प्रमुख सुरेन्द्र पौडेल बताउँछन् । ‘पहिले १ सय ५० गाडिमा जोडौं पछि थप गर्दै लैजाउला भनेर तयारी थाल्यौ,’ उनले भने, ‘त्यसैले पनि अहिले बाँकि रहेकालाई थप गर्दा बैंकिङ प्रोसेस अलिकति लामो भयो ।’

आउँदो भदौ १ गतेदेखि नै सबै नगर बसमा इ टिकेटिङ लागु हुने उनी दाबि गर्छन् । ‘अलिकति ढिलाई त भएकै हो । आउँदौ भर्दौ २ गते देखि चाहि कन्फर्म लागु हुन्छ,’ उनले भने । हाल महानगरमा ८ सय साना ठुला नगर बस चल्ने गरेको उनले जानकारी दिए । सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले खेप्नु पनर्ने सास्ती र भाडाको बिषयमा सहचालकले यात्रुलाई गर्ने दुव्र्यवहार कम गर्ने उद्देश्यले लिएको महानगर मौन बस्दा भाडामा ठगिने समस्या पनि उत्तिकै बढ्दो छ । यी समस्याको समाधान गर्न पनि इ–टिकेटिङ सिस्टम छिटो लागू गर्न यात्रुको माग छ ।

महानगरले बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग इ टिकेटिङ लागू गर्न सम्झौता गरेको थियो । काठमाडौंको एनक्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली बसमा जडान गरिदिने महानगरसँग सहमति थियो । कार्ड मार्फत पैसा भुक्तानी गर्ने भनिएको यो सिस्टम जडान गरेपछि भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुने सिस्टम हो इ टिकेटिङ ।

प्रारम्भिक चरणमा पोखरा सिटिमा चल्ने करिब ८ सय बसमा उक्त प्रविधि जडान गर्ने तयारी रहेको महानगरले जनाएको महानगरको पहिलो चरण कहिले सुरु हुने हो थाहा छैन । कार्डको प्रयोगबाट व्यवसायीको आम्दानी तथ्यांक पारदर्शी हुने विश्वास राखेको महत्वकाक्षीं योजना यसै अलपत्र पर्ने देखिन्छ ।

त्यसो त ढिलै भए पनि बस व्यवसायी समितिले इ – टिकेटिङ कार्यान्वन गर्न सवारी धनी र सहचालकलाई तालिम दिन लागेका छन् । पोखरा भित्र चल्ने बसका चालक सह चालकलाई प्रविधि मैत्री बनाउँन पोखरा बस व्यवसायी समितिले पनि महानगरभित्र चल्ने नगर बसका सबै गाडिका चालक, सह चालकलाई इ टिकेटिङ प्रविधिबारे जानकारी दिएको पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिना बताए । ‘लगभग सबै गाडिका चालक र सह चालकलाई हामीले जानकारी गराईं सक्यौ,’ उनले भने, ‘अब ८० जना जति बाँकि हुनुहुन्छ होला उहाँहरुलाई पनि छिट्टै यसबारै जानकारी दिईहाल्छौं ।’

सम्बन्धित समाचार :-

पोखराका बसमा वैशाखदेखि ई–टिकेटिङ सिस्टम लागू गरिने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button