पोखरा २२ का कृषकको गुनासो : ‘बरु अनुदान चाहिँदैन, बाँदर धपाइदिनुस्’

पोखरा न्यूज – ०९, साउन । जिन्दगीका चौध वर्ष विदेश मै बिताए पनि, सञ्जिव गुरुङको एउटै चाहना थियो स्वदेश मै केही गर्नुपर्छ । ‘१४ वर्ष विदेशमै बिताइयो,’ उनले भने, ‘विदेशमै बसे पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने चाहीँ थियो । १४ वर्ष विदेशमै बिताईसकेपछि, अबचाहि यही केही गर्नुपर्छ भनेर अलिअलि कमाएको पैसा लगानी गरेर कृषि फर्म खोले ।’

अहिले उनको परिवारै कृषि पेशामा छ । ३ दाजुभाई मिलेर फर्म चलाएका छन् । कृषिमै क्रान्ति गर्छु भनेर लागेका उनलाई यतिबेला समस्या आइ लागेको छ । बाँदरको । ३ दिनमा बाँदरले ५ सय काँक्रो नष्ट गरिदिएको भन्दै उनले गुनासो पोखे । ‘कति दुःख गरेर लगायो बाँदरले ३ दिनमै सखाप पारिदियो,’ दुखेसो पोख्दै उनले भने, ‘यस्को उपाय के होला ?’

बुधबार, वडा नम्बर २२ वडा कृषि सञ्जालले राखेको अगुवा कृषक सम्मान कार्यक्रममा कृषकहरुले गण्डकी प्रदेशका मन्त्री र सांसदसामु आ – आफ्ना गुनासो मज्जैले पोखे । कृषक पार्वती बरालको पनि गुनसो उही थियो । ‘बाँदर ल त गर्नु विधि गर्यो,’ उनले भनिन्, ‘दुःख गरि गरि खेति लगायो । फल लिने बेलामा बाँदरले लिन्छ ।’ उनको पनि परिवारै कृषिमा आश्रीत छ ।

कृषक देविलाल बरालले त मन्त्री कै अघि मुखै फोरेर भने, ‘तपाईहरुको अनुदान बरु हामीलाई चाहिँदैन, हामी नै उठाउछौं, बरु बाँदरलाई नियन्त्रणमा लिइदिनुस ।’ कार्यक्रममा उपस्थित कृषक सबैको समस्या एउटै थियो । बाँदरले बस्न खानै दिएन ।

सबै कृषकको गुनासो सुनिसकेपछि कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका सांसद राजीव पहारीले बाँदर आंतक नियन्त्रण गर्न १० लाख रुपैयाँ उपलब्ध गराउने बचनै दिए । ‘हुन त, यो भेगमा १० करोड छुट्याए पनि पुग्दैन,’ उनले भने, ‘अहिलेलाई १० लाख रुपैयाँ बाँदर नियन्त्रणको लागि छुट्याइदिने बचन दिन्छु ।’

बाँदर आंतक अन्त्य गर्न १, २ करोड छुट्याए पनि कमि हुने उनको भनाई थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका १ र ३ मा पनि बाँदर आंतकले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको उनले सुनाए । बाँदर आंंतक नियन्त्रण गर्न राष्ट्रिय निकुञ्जमा लैजानु पर्ने उनको भनाई छ ।

यता, गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले भने नारा लगाएर मात्रै बाँदर आंतक नहट्ने दाबी गर्छन् । बाँदर नियन्त्रण गर्न जंगलमै व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘बाँदर आंतक रोक्न त जंगलमै व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘नारा लगाएर मात्रै बाँदर कहाँ हट्छ ?’ जंगलमा खाना सकिँदै गएकाले बाँदरहरु बस्तिमा प्रवेश गरेको उनले भनाई राखे ।

बाँदर आंतक नियन्त्रणको भरपर्दो उपाय बाँदरलाई जंगगलमै व्यवस्थापन रहेको उनले दाबी गरे । ‘बाँदर आंतकको भरपर्दो उपाय भनेको नै बाँदरलाई जंगलमै व्यवस्थापन गर्ने हो,’ उनले भने, ‘वैकल्पिक उपायको रुपमा हेरालो राख्ने पनि हुन सक्छ, तर, त्यो त्यति भरपर्दो नहुन सक्छ ।’ प्रदेश सरकारको तर्फबाट बाँदर आंतक नियन्त्रणका लागि पहल गर्ने समेत उनले आश्वासन दिएका छन् ।

पुम्दिभुम्दिबाट वार्षिक २५ करोडको कृषिजन्य बस्तु उत्पादन हुने गरेकोमा करिब ५, ६ करोडको कृषि उत्पादन बाँदरले नै नष्ट गरिदिने कृषकहरुले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button