पोखरा मालेपाटनमा नि:शुल्क स्वास्थ्य शिविर: ६ सय ८२ जना लाभान्वित

पोखरा न्यूज – १२, साउन । राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा-५ मालेपाटनमा भएको नि:शुल्क स्वास्थ्य शिविरबाट  ६ सय ८२ जना लाभान्वित भएका छन  ।

नेपाल रेडक्रस सोसाइटी पोखरा-५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।

पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नु पूर्व नै सावधानी अपनाउन आग्रह गरे ।

डा. काफ्लेले मधुमेह, टिजी, प्रेसर, थाइराइड जस्ता रोग लागे वेवास्ता नगर्न र जीवन नै सकियो भन्ने पनि नसोच्न आग्रह गरे । उनले भने, ‘रोग लाग्दैमा जीवन सकियो भन्ने सोच्ने पनि होइन, उपचारै नगरी ठीक हुन्छ भनेर बस्ने पनि होइन ।’ समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ नि:शुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिइसकेको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा-५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button