पोखरामा स्थायी लेखा नम्बर ( PAN) लिनेको संख्या दिनहुँ बढ्दो

गणेश बराल, पोखरा न्यूज – १३, साउन पोखरा स्थित आन्तरिक राजस्व कार्यालयमा यतिबेला स्थायी लेखा नम्बर ( PAN) लिनेको भिड लाग्न थालेको छ ।

सरकारले  नयाँ आर्थिक बर्ष २०७६/०७७ को साउनदेखि कुनै पनि कार्यालय वा स्थानमा काम/सेवा गरी तलबभत्ता, ज्याला अथवा पारिश्रमिक लिने व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था  गरेसँगै स्थायी लेखा नम्बर लिनको लागि कार्यालयमा पुग्ने कर्मचारी तथा कामदारहरूको सङ्ख्यामा वृद्धि भएको हो ।

साउन महिनादेखि स्थायी लेखा नम्बर नलिएका कामदार तथा कर्मचारीलाई रोजगारदाताले प्रदान गर्ने तलबभत्ता,  ज्याला अथवा पारिश्रमिकको भुक्तानीलाई खर्चमा लेखाउन नपाउने व्यस्था सरकारले गरेसँगै कार्यालयमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भिड लाग्न थालेको आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

साउन महिनाको १२ दिनमा कार्यालयबाट २ हजार ७ सय ८८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको लामिछानेले जानकारी दिए । व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरुको संख्या दिनानुदिन बढ्दो मात्रामा रहेको लामिछानेले जनाए  ।

सूचना अधिकारी : विजयप्रसाद लामिछाने

सम्बन्धित व्यवसायले आफ्नो कार्यालय वा स्थानमा काम गर्ने कामदार तथा कर्मचारीले पाउने तलबभत्ता अथवा पारिश्रमिकबाट नियमानुसार अग्रिम रुपमा कर कट्टी गरी उनीहरुलाई भुक्तानी गर्ने हुँदा व्यक्तिगत स्थायी लेखा नम्बर लिने व्यक्तिले वार्षिक रूपमा आन्तरिक राजस्व कार्यालयमा आयविवरण भने बुझाउनु नपर्ने लामिछानेले जनाए ।

तर, कुनैपनि कामदार तथा कर्मचारीले दुई वा दुईभन्दा बढी स्थानमा काम गर्दछ भने त्यस्तो कामदार तथा कर्मचारी व्यावसायिक मानिने र उनीहरुले  व्यावसायिक स्थायी लेखा नम्बर लिनुपर्ने सूचना अधिकारी लामिछानेले बताए । व्यावसायिक स्थायी लेखा नम्बर लिने त्यस्ता कामदार तथा कर्मचारीले वार्षिक रूपमा असोज मसान्तभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा आयविवरण बुझाउनुपर्ने उनले बताए ।

अघिल्ला आर्थिक वर्षहरूमा कर्मचारी तथा कामदारहरूले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने प्रावधान भएपनि रोजगारदाता वा व्यवसायले  खर्च कट्टी गर्न नपाउने कुरा व्यवहारमा लागु भएको थिएन । सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ लाई संशोधन गरी व्यक्तिगत स्थायी लेखा नम्बर नलिएका जोसुकैले लिने तलबभत्ता तथा ज्याला खर्चलाई खर्च लेख्न अमान्य हुने भनिएपछी व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य भएको  छ ।

व्यवसायीक रुपमा स्थायी लेखा नम्बर लिनेको संख्यामा समेत वृद्धि

आन्तरिक राजस्व कार्यालयमा यतिबेला व्यवसायीक रुपमा स्थायी लेखा नम्बर लिनेको संख्यामा समेत वृद्धि भएको सूचना अधिकारी लामिछाने बताउछन् ।

स्थायी लेखा नम्बर उल्लेख नभएको रू १ हजार भन्दा बढी मूल्यको विजकबापतको खर्च कट्टी गर्न नपाउने भएपछी व्यवसायीहरु धमाधम स्थायी लेखा नम्बर लिनको लागि कार्यालयमा आउन थालेको उनले बताए ।

उनका अनुसार साउन महिनाको १२ दिनमा ५ सय ६३ जनाले व्यवसायीक स्थायी लेखा नम्बर लिएका छन्  ।

आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार हालसम्म कास्की र स्याङ्जाका गरि  व्यावसायिक प्यान लिनेको संख्या ४७  हजार ४३  पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ५३  हजार ७०  पुगेको छ।

यस अघि १० वटा जिल्ला हेर्दै आएको यो कार्यालयले बाग्लुङ र दमौलीबाट सो क्षेत्र आसपासका जिल्लाका करदाताले कर तिर्ने व्यवस्था भएसंगै कास्की र स्याङ्जा जिल्ला मात्र हेर्दै आएको छ ।

यस क्षेत्रमा हाल व्यावसायिक र व्यक्तिगत गरि १ लाख १ सय १३ करदाता रहेको आन्तरिक राजस्व कार्यालय पोखराले  जनाएको छ  ।

सहज रुपमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बरका प्राप्त गर्नका  लागि आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गई  स्थायी लेखा नम्बर पाउनका लागि गरिने दरखास्त फाराममा आवश्यक विवरण  अनलाईनको माध्यमबाट भरी त्यस्को प्रिन्ट लिएर कार्यालयमा सम्पर्क गर्ने सुचना अधिकारी लामिछानेले आग्रह गरेका छन् ।

अनलाईनमा आवश्यक विवरण भर्न असमर्थ हुने नागरिकले  कार्यालयमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी दरखास्त गरेमा  स्थायी लेखा नम्बर  प्राप्त हुने लामिछानेले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button