कास्की र स्याङजाबाट एक बर्षमा ५ अर्ब २९ करोड ६९ लाख राजश्व संकलन

दीननाथ बराल, पोखरा न्यूज – १३, साउन । कास्की र स्याङजा जिल्लाबाट मात्रै एक बर्षमा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैया राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७५/०७६ मा संकलन गरेको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

कार्यालयले गत बर्ष ९१.९१ प्रतिशत अर्थात करिब ८ प्रतिशत राजश्व संकलनको लक्ष्य पुरा गर्न नसकेको उनले बताए । आय करमा राजश्व संकलनको लक्ष्य बढी भएको अन्त:शुल्कको बढी राजश्व संकलन गर्ने कार्यालय तनहुँको दमौलीमा सरेको हुनाले पनि आफुहरुले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको सूचना अधिकारी लामिछानेले जनाए ।

त्यसैगरी सुर्य नेपाल, सुर्य ब्याण्डर, अवतीस डिस्ट्रिलरीले राजश्व दमौलिमा बुझाउने भएकाले यस अघि आन्तरिक राजश्व कार्यालय पोखरामा करिब ४० प्रतिशत जसो राजश्व संकलनमा योगदान दिदै आएको सूचना अधिकारी लामिछानेले जनाए ।  धेरै राजश्व संकलनको स्रोत अन्य क्षेत्रमा जाने हुँदा स्वभाविक रुपमा पोखरामा राजश्व कम हुन गएको उनको बुझाइ छ ।

कार्यालयबाट आर्थिक बर्ष २०७५/०७६ देखि कास्की र स्याङजा जिल्लालाई मात्र कार्यक्षेत्र दिएको हुँदा विभागले पहिलो पटक गरेको परिक्षणमा केही फरक पर्न गएको हुन सक्ने सूचना अधिकारी लामिछानेले जनाए । कार्य क्षेत्र १० जिल्लामा रहेको आन्तरिक राजश्व कार्यालय पोखराले गत बर्षदेखि कास्की र स्याङजा मात्र कार्य क्षेत्राधिकार प्राप्त गरेको हो । कार्यालयले अघिल्लो बर्ष १० जिल्ला कार्य क्षेत्र हुँदा शतप्रतिशत अर्थात ८ अर्ब ७० करोड ९४ लाख ३० हजार राजवश्व संकलन गर्न सफल भएको थियो ।

गत बर्ष कार्यालयले आयकर तर्फ ७८.६८ प्रतिशत अर्थात २ अर्ब ४२ करोड ३ लाख १९ हजार राजश्व संकलन गरेको थियो । गत बर्ष आयकर तर्फ कार्यालयको ३ अर्ब ६ करोड, ३३ लाख २५ हजार संकलनको लक्ष्य पाएको थियो । व्याज करबाट गत बर्ष ९३.९९ प्रतिशत अर्थात २० करोड ९२ लाख ३३ हजार राजश्व संकलन भएको कार्यालयले दिएको तथ्याङकमा उल्लेख गरिएको छ । गत बर्ष व्याज करमा २२ करोड २६ लाख ६ हजारको लक्ष्य निर्धारण गरिएको थियो ।

मुल्य अभिबृद्धि करमा कार्यालयले बढी सफलता हासिल गरेको छ । यसमा १ सय २०.७० प्रतिशत सफलता हासिल गरेको हो । १ अर्ब ३ करोड ८७ लाख ३७ हजार राजश्व संकलनको लक्ष्य पाएकोमा १ अर्ब २५ करोड ३७ लाख ९७ हजार राजश्व संकलन गर्न सफल भएको सूचना अधिकारी लामिछानेले जनाए । अन्त:शुल्क तर्फ कार्यालयको लक्ष्य १ अर्ब ४३ करोड ८६ लाख ३१ हजार भएकोमा ८४.४८ प्रतिशत अर्थात १ अर्ब २१ करोड ५३ हजार २ हजार राजश्व संकलन गरेको हो ।

देश संघियतामा गएसंगै कर संकलनमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । यस अघि आन्तरिक राजश्व कार्यालयले संकलन गर्दै आएको घरबहाल कर र सम्पति  कर गत बर्षदेखि स्थानिय तहले संकलन गर्न थालेका छन्। यद्यपी उक्त शिर्शकमा केही राजश्व भने आन्तरिक राजश्व कार्यालय पोखराले संकलन गर्न सफल भएको छ ।

गत बर्ष घर बहाल करबाट कार्यालयले ९ करोड ४८ लाख ७४ हजार, शिक्षाबाट १ करोड ६५ लाख ९६ हजार र स्वास्थ्य करबाट ९ करोड ७७ लाख ४३ हजार राजश्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । घर बहाल कर र सम्पति कर स्थानिय तह अन्तर्गत  पोखरा महानगरपालिका र कास्कीका ४ वटा गाउँपालिकाले संकलन गर्न थालेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button