तनहुँमा चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

पोखरा न्यूज – १४, साउन । चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रु २५ हजार र वडा नं २ ले रु १० हजार गरी रु ३५ हजार आर्थिक सहयोग गरेको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, वडाध्यक्ष अर्जुन केसीले उक्त रकम सोमबार अस्पतालमा नै पुगेर घाइतेका हजुरबुबा गोपीबहादुर सुनुवार राईलाई हस्तान्तरण गरेका छन् ।

घाइते बालक मामाघरमा बसेर सोही वडाको होमराज लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययन गर्छन् । घाइते बालकका आमा वैदेशिक रोजगारीमा सिलसिलामा विदेशमा छिन भने बुबा बेपत्ता रहेको वडाध्यक्ष केसीले जानकारी दिए।

“पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र नगरवासीको पीडामा मलहम लगाउनु नगरपालिकाको उत्तरदायित्व हो”, वडाध्यक्ष केसीले भने, “हामीले गरेको सानो सहयोगले घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”

घाइते बालकको घाँटीको शल्यक्रिया गरिएको छ । घाइते बालकको आर्थिक अभावकै कारण उपचारमा कुनै समस्या नहुने अस्पतालको तर्फबाट प्रतिबद्धता आएको वडाध्यक्ष केसीले जानकारी दिए । चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित अवस्थामा छन् ।

चितुवाको आक्रमणबाट यहाँका बालबालिकाको मृत्यु भइसकेकाले चितुवाको नियन्त्रणका लागि विशेष उपाय अपनाउन प्रयास गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । जिल्लामा गत वर्ष २४ वन्यजन्तु द्वन्द्वको घटना घटेको छ । जसमध्ये भानु नगरपालिकामा मात्रै १५ वन्यजन्तु द्वन्द्वको घटना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button