पोखरा विजयपुर खोलाका पुलै पुलको मापदण्डले लगायो स्थानीयको उठिबास !

दीननाथ बराल, पोखरा न्यूज – १४, साउन । पोखराको विजयपुर खोलामा एकै ठाँउमा दुईवटा पुल निर्माण हुँदा एक स्थानिय घरवास विहिन भएका छन्। विजयपुर खोलामा रहेको मोटरेबल पुल र हालै निर्माण भएको बेलीब्रिजको मापदण्डले गर्दा आफु घर वास विहिन भएको पोखरा-२६ विजयपुरका स्थानिय रत्न बहादुर खत्रीले  गुनासो गरेका छन्।

करिब १२ बर्ष अघि मोटरेबल पुल निर्माण गर्दा करिब १० आना जग्गा मापदण्डमा परेको बताएका खत्रीले हाल बाँकी रहेको ७ आना ३ पैसाको घर सहितको जग्गामा समेत हालै बेलीब्रिज बनाउन सडक डिभिजन कार्यालय पोखराले बाटो बनाएपछि आफुहरु घरवास बिहिन भएको खत्रीले बताएका छन्।

उनले भने -“ म बुढो मान्छे, श्रीमती बिरामी छिन्, भएको एउटा घर सडक डिभिजनले हालै बेलीब्रिज पुल बनाउदा भत्काइदियो, बाकी रहेको जग्गामा हाल गाडी गुड्न थालेका छन्, पाउनु पर्ने उचित क्षतिपुर्तिको माग गर्दा हालसम्म कुनै सुनुवाई भएको छैन्। ” बेलीब्रिज निर्माण भएको पुर्वपट्टिको भागमा आफुहरुको करिब ७ आना जग्गा परेकोमा एउटा मात्रै पुलको मापदण्ड कायम हुँदा करिब ३ आना जग्गा बचत हुने भएको हुँदा उक्त जग्गाको उचित क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने उनले माग गरे ।

आफ्ना बुबा बस्दै आएको घरबास मापदण्डको नाममा खोसिएपछि बुबा कान्छा छोरा शंकर खत्रीको साथमा बस्दै आएको रत्न बहादुरकी छोरी निर्मला खत्रीले बताइन्। उनले भनिन् -“हाम्रा बाबाको नाममा  लालपुर्जा सहित भएको घर सहितको जग्गा केही मापदण्डले खायो भनेपनि बाँकी रहेको जग्गाको क्षतिपुर्ति उपलब्ध गराउन सडक डिभिजन कार्यालयसँग  माग गर्दै आउदा हालसम्म कुनै सुनुवाई भएको छैन्।”  सडक डिभिजनले निश्चत एउटा मापदण्ड लागु गरेर बाँकी रहेको जग्गाको उचित मुआव्जा उपलब्ध गराउनु पर्नेमा ढिला सुस्ती गरेको उनको आरोप छ ।

सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख हरि पोख्रेलले विजयपुर खोलाको छेउमा बेलीब्रिज बनाउदा रत्न बहादुर क्षेत्रीको जग्गा प्रयोग भएको वा नभएको भन्ने बिषयमा हाल नापी कार्यालयलाई आफुले लेखि पठाएको पोखरा न्यूजलाई  बताए । नापी कार्यालयले दिएको रिपोर्टको आधारमा यदी व्यक्तिको जग्गा सडकमा परेको भए उचित क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने पोख्रेलले बताए । उनले भने -“पुरानो पुलको  हाल अवशेस मात्र रहेको छ , पुलको सेन्टर भागबाट २५ मिटर भित्र पर्ने जग्गा सडकको मापदण्ड भित्र पर्छ अन्यथा त्यसको उचित क्षतिपूर्ति पाउनुपर्छ।” कुनै पनि ठाँउमा एकै व्यक्तिको दोहोरो मापदण्ड भने लागु नहुने उनले जनाए ।

बेलीब्रिज बनाउदा क्षेत्रीको ४ कोठे भवन समेत भत्काइएकोमा पोखरा महानगरपालिकाले ५० हजार रुपैया उपलब्ध गराएको थियो । महानगरले बेलीब्रिज निर्माणको लागि घर भत्काए वापत राहत स्वरुप उक्त रकम उपलब्ध गराएको महानगरका मेयर मानबहादुर जिसीले बताए । बेलीब्रिजका कारण घर सहित जग्गा गुमाएका क्षेत्रीलाई उचित रहात उपलब्ध गराउनु पर्ने उनले जनाए ।

हालै निर्माण भएको बेलीब्रिज (पुल) मा ३५ टन भारवान क्षमताका मालबहाक सवारी साधन संचालनमा रोक लगाएसंगै विजयपुरमा हाल तीन वटा पुल संचालनमा आएका छन्। मोटरेबल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल बेलीब्रिज निर्माण भए पनि त्यसबाट समेत पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनालाई खासै उपयोग नहुने भएपछी चाइनिज कम्पनीले डाइभर्सन पुल निर्माण गरेसंगै हाल तीन वटा पुल संचालन भएका हुन्।

अर्का एक  स्थानीय भगवती श्रेष्ठले पनि डाइभर्सन पुल जाने बाटोमा  आफ्नो केही जग्गा पर्ने भएको भन्दै क्षतिपुर्ति माग गरेकी छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button