पोखरा आसपासमा आधा साउन जाँदा पनि मूलै फुटेनन्

वासुदेव पौडेल, पोखरा न्यूज- १५ , साउन । अत्यधिक बाढीले कतै बस्ती नै डुब्यो, कतै पहिरोले घर जग्गा बगायो, मानवीय धनजनको क्षति यस्तै यस्तै खबर यतिखेर समाचारका पाना, अनलाइन, रेडियो एवम् टेलिभिजनमा पढ्न, सुन्न र देख्न पाइन्छ । देशका विभिन्न भूभाग बाढीपहिरोका कारण डुबानमा परिरहेका अस्थामा नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा आसपासमा भने कम पानीका कारण आधा साउन जाँदा पनि मूल नफुट्दा कृषक चिन्तामा छन् ।

जेनतेन पानीका नहर र खोला किनारमा रोपाइँ भए पनि अन्य स्थानमा भने पानी नपरेकै कारण खेत बाँझै छन् । विशेषगरी अधिकांश टारी खेतमा त यतिखेर खडेरीको कारण रोपाइँ हुन सकेको छैन ।

पानी नपरेकै कारण पानी माग्दै तनहँुको शुक्लागण्डकी नगरपालिका–१ र २ का स्थानीयवासीले त साउनको पहिलो साता इन्द्र भगवान्को पूजा गरे । पूजा गरे पनि पानी नपरेपछि अहिलेसम्म पनि त्यहाँका शेराबेँसी, ज्यामिरकोटे र सुन्दरी गाउँका झण्डै दुई सय रोपनी खेत बाँझै छन् । उत्पादनका दृष्टिले यी स्थानका खेत अब्बल मानिने स्थानीयवासी ठाकुरप्रसाद खनालले बताए । ‘‘जग्गा अब्ब्ल भएर के गर्ने ? पानी नै नपरेपछि मूल फुट्न सकेन । जसले गर्दा रोपाइँ गर्न पाइएको छैन’’ उनले भने ।

स्थानीयवासीले वैदिक विधिद्वारा हवन कर्मसहित इन्द्रको पूजा गरी पानी मागेका थिए । पानी नपरेकै कारण रोपाइँ हुन नसकेपछि इन्द्रको पूजा गरिएको यो घटना भने धेरै वर्ष पछिको हो । यसअघि खडेरी परेपछि यहाँका स्थानीयवासीले २०४४ साल वैशाखमा इन्द्रको पूजा गरेको शेराबँेसी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

मूलहरू नफुटेको भन्दै साउनकै पहिलो साता भगवान् इन्द्रलाई खुशी पार्न कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटनमा पनि धुमधामका साथ भ्यागुताको विवाह गरिएको थियो । कृषकले धुमधाम साथ भ्यागुताको विवाह गराए । झण्डै दुई सयभन्दा बढी जन्ती, भोजभतेर, जग्गीयासहितको हवन सबै विधि पूरा गरियो । महिलाले रत्यौली खेले, पुरुष जन्ती बने भ्यागुताको बिहे सकियो । भ्यागुताको विवाह भए पनि पानी परेन, मूल फुटेनन् । असारको अन्त्यसम्म रोपी सकिने यहाँका अधिकांश खेत यस वर्ष बाझिने अवस्था आएको कृषकको गुनासो छ ।

मूल फुट्नका लागि पर्याप्त पानी पर्नुपर्ने भए पनि पानी नपरेकै कारण समस्या भएको जल तथा मौसम विज्ञान कार्यालय, पोखराका मौसम विज्ञान सहायक सरोज अधिकारीले बताए । पछिल्ला वर्षमा पोखरा र आसपासका क्षेत्रमा बर्सेनी पानी पर्ने क्रम घट्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ ।

बर्खायामको समय विशेषगरी जुन, जुलाई र अगस्त हो । पोखरामा सन् २०१४ को जुन, जुलाई र अगस्तमा क्रमशः २८७.८, ८००.४ र १४२१.७ मिलिलिटर पानी परेको थियो भने २०१५ मा क्रमशः ५०६.९, ९२३.० र ७८१.८ मिलिलिटर परेको थियो । सन् २०१६ मा क्रमशः ५८९.०, ८७७.५ र ३८१.६ पर्यो भने २०१७ मा क्रमशः ४८२.६, १०७१.० र ६२०.५ मिलिलिटर पर्यो ।

त्यस्तै सन् २०१८ मा क्रमशः ३६५.८, ६३९.८ र ६००.४ मिलि पानी प¥यो भने यस वर्षको जुनमा ६०८.३ र जुलाईमा ५४५ मिलि पानी परेको छ । केही वर्षयताको तथ्याङ्कले अधिकांश पानी पर्ने मात्रा बर्सेनी कम हुँदै गएको छ भने केही महिनामा भने उतारचढाव देखिएको छ ।

गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले जानकारी दिए । खोला किनारका स्थानमा कृषकले जेनतेन रोपे पनि धेरैजसो टारी खेतमा भने मूल नफुटेका कारण रोपाइँ हुन नसकेको उहाँले बताउनुभयो ।

कास्कीको अन्नपूर्ण, मादी, रुपा, माछापुच्छ्रे गाउँपालिकाका साथै पोखरा महानगरपालिकाका पहाडी भूभागमा मूल नफुटेकै कारण रोपाइँ हुन नसकेको उनले जानकारी दिए । गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङ र मुस्ताङमा खासै रोपाइँ गरेको पाइँदैन । समग्र प्रदेशको तथ्याङ्कअनुसार यहाँका झण्डै २० प्रतिशत भूभागमा अहिलेसम्म पनि रोपाइँ भएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button