आइपुग्यो गण्डकी प्रदेशका सांसदले लगाउँने सुन र चाँदी जडित लोगो

पोखरा न्यूज- १५ , साउन । गण्डकी प्रदेशसभा सदस्यले लगाउने लोगो आइपुगेको छ । चीनको सांघाईमा बनेको सुन र चाँदी जडित उक्त लोगो गत साउन ७ गते प्रदेशसभा आइपुगेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए ।

चीनमा बनेर आएको नयाँ लोगो चाँदी र सुनले बनेको छ । पहिलेको लोगो प्लास्टिकको थियो । प्लास्टिकको लोगो बनेको वर्ष दिन नपुग्दै खुइलिन थालेपछि यसबारे उनको भनाई छ । गण्डकीका माननीयले सुन जडित लोगो लगाउँने भनिएको थियो नि ? भन्ने प्रश्नमा उनले भने, ‘सुन जडित होइन, सुनको लेपन मात्र लगाइएको हो ।’ यसअघि सभामुख नेतृत्वको लोगो तथा पोशाक सिफारिस समितिले गत वर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।

चीनमा बनेको उक्त लोगो प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ परेको उनले जानकारी दिए । अहिले भइरहेको लोगो नेपालमै करिब २ सय रुपैयाँमा बनेको उनले सुनाए । नयाँ लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन लगाइएको उनले बताए ।  गत जेठ २० गते तेस्रो पटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदी जडित लोगो ल्याइएको उनले जानकारी दिए । ‘यो नेपालमा नबन्ने रहेछ,’ उनले भने, ‘चीनबाट बनेर आएको हो । ७५ लोगो ल्याइएको छ ।’

कुनै सांसदले लोगो हराएमा प्रदेश सभामा किन्न पाउनेछन् । त्यसरी लोगो किन्दा ६ हजार ५ सय रुपैयाँ परेकोलाई प्रदेश सभा सदस्यले भने ३ हजार मा पाउँने छन् । सुन जडित लोगो प्रदेशसभामा सहभागि हुन आउने सांसदलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराइरहेको छ ।

नयाँ लोगो सदस्यहरुले लिई सकेको गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा विष्टले जानकारी दिए । ‘प्रदेशसभा बैठकमा आउने माननीय ज्यूहरुले लोगो लगाइ पनि सकेका छौँ,’ उनले भने, ‘पहिले बनेको लोगो खुइलिने, देख्दा नराम्रो भयो भन्ने सबैको मत भयो अनि कार्य व्यवस्था परामर्श समितिले छलफल गरेर नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।’ अहिलेको लोगो हेर्दा आकर्षक रहेको उनी बताउँछन् ।  सभामा नआउँने केही माननीयले लोगो नलिए पनि अधिकाशंले लिई सकेको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button