मुक्तिनाथ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले यार्तुङ महोत्सव हुने

दीननाथ बराल, पोखरा न्यूज- १५ , साउन । मुक्तिनाथ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले मुस्ताङको रानीपौवा गाउँमा यार्तुङ महोत्सव हुने भएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा मुक्तिनाथ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले साउन २७ गतेदेखि महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गाउँपालिकाको वडा नम्बर १ मा हुने महोत्सवमा करिब १० हजार पर्यटक भित्रिने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए । उक्त सङख्यामा पर्यटक भित्रिदा करिब २ करोड मुल्य बराबरको कारोबार गर्ने आफुहरुले अपेक्षा गरेको उनले जनाए ।

धार्मिक, सांस्कृतिक, सहासिक तथा खेल पर्यटनको प्रबर्द्धन गर्ने उद्धेश्यले जनैपूर्णिमा पर्वको अवसर महोत्सव आयोजना हुने भएको हो । गर्मी मौसम तथा बर्खायामको अन्त्यको रुपमा पनि महोत्सवलाई लिने गरेको पाइन्छ । सदियौंदेखि मनाइदै आएको यस पर्वको समयमा उक्त क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक सुन्दरतालाई विश्व सामु चिनाउन पनि महोत्सवले थप टेवा पुग्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।

ऐतिहासिक तथा पुरातात्विक रुपमा परिचित उक्त गाँँउपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने, पर्यटकको बसाई अवधि लम्वाउन, गाउँपालिका भित्रका पर्यटकीय गन्तव्यहरुलाई प्रचार-प्रसार गर्न समेत महोत्सवले सहयोग पुग्ने भएको उनले जनाए । गण्डकी प्रदेशको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्न र नेपाल सरकारले घोषणा गरेको भिजन २०२० लाई टेवा पुर्याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले जनाए ।

महोत्सवमा स्थानिय उत्पादनको प्रबर्द्धन, बजारीकरण, विविधिकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्यटन, कृषि, पशुपालन र गुणस्तरिय पुर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाको पहिचान र समृद्धिको प्रमुख आधार भन्ने मुल मर्मलाई सहयोग पुर्याउने भएको अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा मुक्तिनाथ मन्दिरको दर्शन गर्न पाइने, याक सवार, ऐतिहासिक घोडा दौड प्रतियोगिता, परम्परागत ताराखेल, मास्क डान्स, सेभन ए साईड फुटबल प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दीपक रेग्मीले बताए । गाउँपालिका भित्र १९ वटा गाउँको परम्परागत भेषभुषा प्रर्दशनको साथमा विविध सांस्कृतिक कार्यक्रम संचालन गरिने भएको उनले जनाए ।

यस सिजनमा कृषकको बारीमा लटरम्म स्याउ समेत फलेको दृश्यले पर्यटकहरुलाई थप आकर्षण गर्ने भएको छ । महोत्सव सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने भएको छ । गाउँपालिकाका अध्यक्षतामा ७१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । घोडादौड प्रतियोगितामा विजेतालाई ५० हजार उपविजेतालाइ ३० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button