बागलुङ-घोडाबाँधे सडकखण्ड २० वर्ष बित्दापनि कालोपत्र हुन सकेन्

 रामबहादुर थापा, पोखरा न्यूज- १७ , साउन ।  सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ ।

त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने कालोपत्र सडक शुरु हुन्छ । घोडाबाँधेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङसम्म ६४ किमी पक्की सडक छ ।

पश्चिमतर्फ धमाधम कालोपत्र हुँदा सदरमुकामतर्फकै सडक भने सबैभन्दा नाजुक किन छ ? सर्वसाधारणको यो प्रश्न धेरै पुरानो भइसक्यो । मार्ग खुलेको २० वर्ष बितिसक्दा पनि बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र हुनसकेको छैन । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् ।

लोकमार्गका ठाउँठाउँमा खसेका पहिरो र हिलाम्मे सडकका कारण जोखिम बढिरहेको बागलुङ–बुर्तिबाङ ‘रुट’ का जिप चालक दीपक बोहराले बताए । “बागलुङ बजारदेखि अक्षेतेसम्म सबैभन्दा बढी समस्या छ”, उहाँले भन्नुभयो, “ठूलो पानी पर्दा गाडी नै हिलोमा फस्छन्, हिउँदमा पनि यात्रा सहज छैन ।”

लोकमार्ग आयोजनाले वर्षा शुरु नहुँदै पूर्वाधार तयारी सक्ने र आउँदो हिउँदभित्र कालोपत्र गर्ने जनाएको थियो । काम ढिलो हुनुमा ठेकेदार कम्पनी दोषी रहेको आयोजनाको भनाइ छ । ठेकेदार कम्पनीले भने मुआब्जा, खानेपानी पाइप, विद्युत् खम्बा आदि कारणले काम प्रभावित भएको बताएका छन् ।

सदरमुकामदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाइ कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जीनियर रामप्रसाद सुवेदीले बताए ।

“अहिले वर्षाले गर्दा निर्माणको काम सुस्त छ”, उनले भने, “पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममा बढी समय बितेको छ ।” उनले आउँदो वर्षभित्र सडक कालोपत्र हुने बताए। ठेक्काको सम्झौता अवधि पनि एक वर्ष मात्र बाँकी छ ।

वर्षा सकिएपछि कामले गति लिने इञ्जीनियर सुवेदीको भनाइ छ । “ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएकै हो”, उनले भने, “आयोजना व्यवस्थापनले सचेत गराएको छ, अब काममा ढिलाइ हुन दिन्नौँ ।” समयमा काम नभएपछि पटक–पटक ठेक्काको म्याद थप हुँदै आएको छ ।

जनगुनासो बढेपछि आयोजना व्यवस्थापन, जनप्रतिनिधि, स्थानीय प्रशासनलगायत सरोकार पक्षले लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ठेकेदार कम्पनीलाई छिटो काम सक्न अनुरोध गर्ने र लापरवाही गरेमा कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले बताए ।

“लोकमार्गलगायतका अन्य विकास योजनाको काममा लापरवाही गर्ने ठेकेदारलाई शुरुमा चेतावनी दिने, भएन भने कारवाही गर्ने निर्णय भएको छ” उनले भने । कालोपत्र भएको घोडाबाँधे–बुर्तिबाङ खण्ड पनि ठाउँठाउँमा जीर्ण बनेको छ । सडकको नियमित मर्मत सुधार हुनसकेको छैन ।

पहिरोको कारण गलकोट नगरपालिका–९ मल्म अम्रिसेखोलामा पटक–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथाम नगरे लोकमार्गमा ठूलो क्षति पुग्ने वडाध्यक्ष तेजबहादुर थापाले बताए । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा पर्ने तुरतुरेमा पनि पहिरोको जोखिम छ । लोकमार्ग भासिने र चर्किने भएपछि सतर्कता अपनाइएको छ । सोही ठाउँमा गत वर्ष गएको पहिरोले बडिगाड खोला थुनिँदा ताल बनेको थियो ।

लोकमार्गको गलकोट, हटियादेखि उताको खण्ड हेर्ने इञ्जिनीयर सरोज ढकालले वर्षा हुनासाथ पहिरोले अवरोध खडा गर्ने गरेको बताए । अवरोध सिर्जना हुन नदिन र भइहाले तत्काल हटाउन आयोजना व्यवस्थापन सधैँ तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले सबैभन्दा बढी बागलुङको १४२ किमि भूभाग समेटेको छ ।

बुर्तिबाङदेखि निसीखोला गाउँपालिकाको पातीहाल्नेसम्मको ४५ किमीमध्ये १४ किमी सडक कालोपत्र भइसकेको छ भने बाँकी यही आर्थिक वर्षभित्र कालोपत्र गर्ने आयोजनाको तयारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button