आहा रारा गोल्ड कपबाट जम्मा १ लाख ४९ हजार बचत

दीननाथ बराल, पोखरा न्यूज- १८ , साउन । १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ ।

गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा सहारा क्लब पोखराले जनाएको हो ।  बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम बचत भएको हो । अघिल्लो बर्ष १६ औं आहा रारा गोल्ड कपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको थियो । १५ औं संस्करणबाट २७ लाख बढि बचत भएको थियो ।

आय व्यय प्रस्तुत गर्दै क्लबका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह-संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लबले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैया आम्दानी भएको उनले जनाए । राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४/४ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीबाट ४ लाख एक हजार आम्दानी भएको थियो ।

यस बर्ष पोखरा रंगशालामा विना प्यारापिट प्रतियोगिता संचालन भएको हुँदा कम दर्शक भित्रिदा आम्दानी निकै कम भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा आहा राराको बचत रकमले खर्च गर्दै आएको क्लबले यस बर्षबाट भने सहारा एकेडेमी अक्षयकोषको रकम प्रयोग गर्ने भएको छ । कोषमा हालसम्म करिब एक करोड २० लाख भन्दा बढी रकम संकलन भएको उनले जनाए । उक्त रकमबाट संकलन भएको व्याजको पैसा एकेडेमीमा खर्चिने क्लबले जनाएको छ ।

त्यसै गरी खेलाडीहरुको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैया खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहन शीर्षकमा १३ लाख २२ हजार, प्रचार-प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैया खर्च भएको थियो । त्यसै गरी रेफ्रि खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैया, मैदान, स्टेज, प्यारापिट व्यवस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैया खर्च भएको कोषाध्यक्ष लालचनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button