पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा

पोखरा न्यूज – १८, साउन । साउनको जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थस्थल  गोसाइँकुण्डको मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सरसफाइ, वातावरण संरक्षण, उद्धार, स्वास्थ्य उपचार, प्रचारप्रसार, अनुगमन र समन्वय तथा आन्तरिक प्रवर्द्धन उपसमिति गठन गरिएको छ ।यस वर्षको जनैपूर्णिमा पर्वका अवसरमा १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताए ।

यात्रुले खाने बस्ने होटल तथा लज तिर्नुपर्ने शुल्कसमेत निर्धारण भइसकेकाले मूल्यसूची हेरेर मात्र रकम भुक्तानी गर्न भक्तजनलाई आग्रह गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षको गोसाइँकुण्ड मेला साउन २६ गतेदेखि ३० गतेसम्म चल्नेछ । गोसाइँकुण्डमा स्नान गर्दा सबै पाप मोक्ष हुने जन विश्वास छ ।

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनको आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ ।

काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टामा मोटर र त्यसपछि पैदल यात्रा शुरु हुने धार्मिक पदमार्गमा त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारीे, चन्दनबारी आधार इलाकामा भेटिने चौँरीगाई, मिश्रण वनस्पति लौरीविनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले यात्रुलाई थप मनमोहक बनाउने गरेको छ । भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थमा डुबुल्की मार्दा नयाँ जोश जागरको अनुभूति लिन सकिन्छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्न धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ । गोसाइँकुण्ड तीर्थ बौद्ध तथा हिन्दू दुबै धर्मावलम्बीको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा स्थानीय वेषभूषाले रौनकता थप्छ । पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आफ्ना दिवङ्गतपित्रीको सम्झना गर्दै श्राद्ध एवम तर्पण गर्नाले बीच बाटोमा अह्रोगति भएर बसेका सबै पित्री स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button