लेकसाइडमा रातको समयमा हुने होहल्ला र प्रदूषण रोक्नुपर्यो भनेर अदालत गएका हौ : व्यवसायी

पोखरा न्यूज – १९, साउन  । पर्यटकीय नगरी पोखराको लेकसाइडमा बेलुका ११  बजेपछि ध्वनि प्रदूषण तथा होहल्ला रोक्नुपर्ने माग सहित सरकारलाई बिपक्षी बनाएर रिट दायर भएको निवेदकहरुले बताएका छन् ।

स्थानीय बासिन्दा र पर्यटकलाई समेत साझ ९  बजेपछि लेकसाइडमा सञ्चालन हुने डान्स बार, क्याबिन, दोहोरी साँझ, डिस्को क्लब आदिले फैलाएको ध्वनि प्रदूषण र होहल्लाले लेकसाइडमा बस्न र सुत्न असहज भएको भन्दै त्यसलाई ११ बजेपछि  रोक्नुपर्ने आसयको मागसहित आफुहरुले अदालतमा रिट दायर गरेको पश्चिमाञ्चल होटल सङ्घ (हान)का पूर्वअध्यक्ष एवम् पर्यटन व्यवसायी गोविन्दराज पहारीले बताए ।

आफुँ लगायत पर्यटन सम्बद्ध संघ सस्था तथा सामाजिक संघ सस्थाका ४२ जनाले लेकसाइडको पर्यटनलाई ब्यबस्थित पार्ने मनसायका साथ बेलुका ११  बजेपछि ध्वनि प्रदूषण होहल्ला रोक्नुपर्छ भनेर नै रिट दायर गरेको पर्यटन व्यवसायी गोविन्दराज पहारीले बताए । “हामीले बेलुका ११  बजेपछि ध्वनि प्रदूषण तथा होहल्ला गराउने व्यवसाय नियन्त्रण गर्न माग गरेका हौ, यो सरकार बिरुद्धको मुद्दा हो हामीले व्यवसायीहरुको बिरोध गरेका छैनौ ”- निवेदक मध्येका  एक पहारीले भने ।

पहारीले लेकसाइड २४ घण्टा खोल्ने कुरामा आफुँहरु पनि सकारात्मक रहेको बताउदै २४ घण्टा लेकसाइड खोल्न २४ घण्टा नै शान्ति सुरक्षाको प्रत्याभूति र ध्वनि प्रदूषण तथा होहल्ला नहुने वातावरण तयार पार्नुपर्ने उल्लेख गरे । लेकसाइडमा आफुहरु लगायत होटलमा बास बस्ने पाहुनाहरु बिगत ३ दशकदेखि ध्वनि प्रदूषण र होहल्लाबाट पिडित रहेको र यस बिषयमा कोहि कसैले आवाज नउठाएकाले यो बिषयमा आफुँहरुले आवाज उठाएको पहारीले बताए ।

पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष विकल तुलाचनले पर्यटन व्यवसायलाई व्यवस्थित गराउन प्रशासनलाई दबाब दिनकै लागि आफूहरुले रिट दायर गरेको बताए । तुलाचनले आफुहरु कोहि कसैको ब्यबसाय बन्द गराउने उधेश्यमा नभई शान्ति सुरक्षाको प्रत्याभूति र ध्वनि प्रदूषण तथा होहल्ला नियन्त्रणका विषयमा निर्देशिका बनाएर पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने पक्षमा रहेको उल्लेख गरे ।

रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले पर्यटन क्षेत्रका व्यवसायलाई व्यवस्थित गरेर अघि बढ्नुको विकल्प नभएको विचार व्यक्त गरे । अर्बौको लगानी रहेको क्षेत्रलाई साँघुरो घेराभित्र राखेर अवरोध सिर्जना गरिनु नहुने र समस्या न्यूनीकरणमा सरकार, व्यवसायी र स्थानीयसहित छलफल गरेर उचित निकासबाट अघि बढ्नु पर्ने रेबानको धारणा रहेको उनले बताए ।

पोखरेली पर्यटन व्यबसायीहरुको छाता सस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले अहिले अदालतमा परेको रिट सकारात्मकनै रहेको भएपनि सबै रात्रीकालिन व्यवसायीहरुलाई एकै डालोमा हाल्ने काम भने गर्न नहुने बताए । “केहि साथीहरुले निश्चित मापदण्ड पुरा गरेर बाहिरी  वातावरण शान्त हुने गरि व्यवसाय संचालन गरिरहनुभएको छ, उहाँहरुलाई यो विवादमा तान्नु हुदैन तर आफ्नो व्यवसाय संचालन गर्दा पर्यटक तथा स्थानीयको अधिकार हनन् हुनेगरी भए गरेका कामकारवाही लाई भने एउटा मापदण्ड बनाएर दायरामा ल्याउनुपर्छ ।”

सरकारले रात्रीकालिन व्यवसाय समबन्धि आचारसंहिता बनाउदा रात्रीकालिन व्यवसायीहरुले व्यबसाय गर्न पाउने गरि  स्थानीय जनता तथा पर्यटकलाई सुरक्षा र शान्तिको प्रत्याभूति पनि हुने गरि रात्रीकालिन आचारसंहिता तयार पाउर्नुपर्ने परिषद् अध्यक्ष पोखरेलको भनाई छ । केहि रात्रीकालिन व्यवसायीले अर्काको अधिकारको ख्याल नगरिदिदा र रातमा युवायुवतीको जमातले हो हल्ला गरिदिदा अहिले रिट दायर सम्मको प्रतिफल निस्किएको बताउदै  पोखरेलले रिट दायर गर्ने साथीहरुको भावनाको कदर गर्दै रात्रीकालिन व्यवसायको  निश्चित मापदण्ड कायम गरेर अगाडि बढ्नुपर्ने बताए ।

रातको समयमा चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रङ्गीविरङ्गी बत्तीले जनजीवनलाई असर गरेको र रातको समयमा फर्कने ग्राहकको अश्लील व्यवहारबाट समाज तथा पर्यटनमा नकारात्मक असर पुगेको निवेदकको दाबी छ । चर्को आवाज र झिलिमिली बत्तीले वातावरणीय प्रदूषण बढेको र फेवाताल र सीमसारका जीवजन्तुलाई समेत असर पारेको रिटमा उल्लेख गरिएको छ । बेलुका ९ बजेपछि बिहान ४ बजेसम्मनै रेष्टुराँ र डान्स क्लबमा होहल्ला हुने गरेका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पाहुनालाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्ता व्यवसाय बन्द गर्न माग गरिएको छ ।

हान का अध्यक्ष विकल तुलाचन र पूर्वअध्यक्ष पहारीसहित लेकसाइडका होटल व्यवसायी, सामुदायिक सेवा केन्द्र, टोल बिकास सस्था, स्थानीय आमा समूह, लगायतका पर्यटन सम्वद्ध ४२ जनाले साझ ९  बजेपछि सञ्चालन हुने डान्स बार, रेष्टुरा  क्याबिन, दोहोरी साँझ, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अन्तरिम आदेश माग्दै रिट दायर गरेका हुन् ।

स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको भन्दै तत्कालका लागि त्यस्तो व्यवसाय बन्द गराउन अन्तरिम आदेश माग्दै रिट दायर भएपछि पोखरामा केहि पर्यटन व्यवसायीबीच वैचारिक द्वन्द्व शुरु भएको छ  । पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउनुपर्ने माग राख्दै पोखराका केहि पर्यटन व्यवसायीहरुले आवाज समेत उठाउदै आएका छन् ।

यसैबिच उच्च अदालत पोखराले रात्रिकालीन व्यवसायविरुद्ध परेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलासले बिहीबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई साउन २० गते बोलाएको छ ।

रिटमा प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदामसहित १० जनालाई विपक्षी बनाइएको छ । अवान्छित र गैरकानूनी क्रियाकलाप हुन नदिनेलगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गरी प्रहरीको गस्ती बढाउन अदालतले जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button