पहिरोले बागलुङमा १ बर्ष पहिले बनेको ताल बाढीसँगै बिलायो

रामबहादुर थापा, पोखरा न्यूज – २१, साउन । तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन ।

गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेको थियो । ताललाई स्थानीयलले ‘तुरेतुरे’ नाम दिएका थिए । तुरतुरे बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा पर्छ । एक किमी क्षेत्रफलमा फैलिएको तालले पर्यटकीय आकर्षण थपेको थियो ।

ताललाई गाउँलेले आयआर्जनको माध्यम बनाएका थिए । गएको हिउँदमा व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरिएको थियो । बिदाको दिनमा त ताल घुम्नेको घुइँचो नै लाग्थ्यो । घमाइलो दिनमा तालको सौन्दर्य कुनै प्राकृतिक तालको भन्दा कम थिएन । ताल नजिक कतिपयले सानोतिनो व्यवसायसमेत शुरु गरेका थिए ।

ताल प्रभावित क्षेत्रका बासिन्दाले ‘तुरतुरे ताल डुङ्गा व्यवस्थापन समिति’ नै बनाएर काम अघि बढाएका थिए । जलयात्राका लागि डुङ्गा किन्न ढोरपाटन नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । अब न ताल रह्यो, न खेतबारी । फुट्यो ताल, टुट्यो सपना जस्तै भएको छ ।

तालले ढोरपाटन नगरपालिका–२ सिमलचौर र खप्तरीबाङका दुई घर, पाँच गोठसहित सय रोपनीभन्दा बढी खेतीयोग्य जमीन डुबानमा पारेको थियो । घरखेत डुबेपनि ताल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुने आशामा गाउँले थिए । “तालले पर्यटकलाई आकर्षित गरेको थियो”, स्थानीयवासी नवीन पुनले भन्नुभयो, “डुङ्गा व्यवसायबाट आयआर्जन पनि भइरहेको थियो ।”

दिगो रुपमा ताल जोगाउन सकेमा पर्यटकीय पूर्वाधार निर्माणको योजनासमेत बनाइएको थियो । व्यावसायिक माछापालनका लागिसमेत गाउँले तयारी गरेका थिए । ताल क्षेत्रमा घरबास (होमस्टे), रेष्टुराँलगायतका आयमूलक व्यवसाय चलाउन ढोरपाटन नगरपालिकाले सघाउने प्रतिबद्धता गरेको थियो । दुई/चार वर्ष ताल केही नहुनेमा नगरपालिका पनि ढुक्क थियो ।

पर्यटकीय गन्तव्य बन्ने आशामा ताल जोगाउने मात्रै कुरा गरेपनि व्यवस्थित संरक्षणतिर कोही लागेनन् । निसी, भुजी र तमानखोलाबाट आएको बाढी बडिगाडमा मिसिदा तालले थेग्न सकेन । ताल फुट्दा आएको बाढीले सँगै साढे दुई सय मिटर मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि बगाएको छ ।

“अहोभाग्य भन्नुपर्छ, “तालले अन्य ठूलो क्षति पुर्याएन”, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, “तालको धेरैजसो पानी बगिसकेको छ, तल्लो तटीय क्षेत्रमा अब जोखिम छैन ।” यसरी एक्कासी ताल फुट्ला भनेर नसोचिएको उनको भनाइ छ । मध्यरातिदेखि नै तालबाट पानी बग्न थालेपछि सुरक्षा सतर्कता अपनाइएको थियो । बागलुङसँगै छिमेकी गुल्मीका बासिन्दासमेत रातभर जागा बसेका थिए ।

गत वर्ष पहिरो गए लगत्तै ताल फुटाउँदा जोखिम निम्तने खतरा भएपछि ताल उही स्वरुपमा राखिएको थियो । उतिबेलै नेपाली सेनाको प्राविधिक टोलीले तत्काललाई जोखिम टरेको भन्दै ताल नफुटाइ फर्केको थियो । हिउँदमा कुनै समस्या नभएपनि वर्षामा ताल के हुने हो भन्ने आशङ्का व्याप्त थियो । केही वर्ष ताल जोगिए पनि पछि पुरिने सम्भावना कतिपयले औँल्याउँदै आएका थिए ।

“जोखिम नहुने अवस्थामा मात्र ताल संरक्षण गर्ने योजना थियो”, अध्यक्ष पाइजाले भने, “तर, अब त्यो सम्भव रहेन ताल आफैँ फुट्यो ।” गत वर्ष ताल अवलोकनका लागि पुगेको नेपाली सेनाको प्राविधिक टोलीले ताल फुटाउनै परे पनि सुख्खायाममा फुटाउन सुझाव दिएको थियो ।

स्थानीयवासीले सरकारले नै तालको प्राविधिक अध्ययन गरी संरक्षण गर्नुपर्ने माग गर्दै आएका थिए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने सानो आकारमा ताल रहिरहने बताए । “पहिले जस्तो नहुने भयो, सानो स्वरुपमा भए पनि ताल रहन्छ”, उनले भने, “अहिलेलाई तालभन्दा पनि लोकमार्ग कसरी खुलाउने भन्ने चिन्ता छ, त्यसमै केन्द्रित छौँ ।”

ताल फुट्दा आएको बाढीले मध्यपहाडी पुष्पलाल लोकमार्गमा क्षति पुर्याएपछि सवारी अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकासँगको सडक सम्पर्क टुटेको छ । भिमगिठे, दर्लिङ हुँदै बुर्तिबाङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । तुरतुरेमा भत्केको सडक बनाउन केही समय लाग्ने जनाइएको छ ।

तालको पानी घट्दै गएपछि डुबानमा परेका खेत देखिन थालेको स्थानीयवासीले बताएका छन् । डुबानबाट ४८ घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । डुबेका दुई घर नगरप्रमुख नेपालीको व्यक्तिगत सहयोगमा पुनःनिर्माण भइसकेका छन् । अन्य डुबान प्रभावितले भने कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button