पोखरामा महानगरकै स्काभेटर प्रयोग गरि सिमसार क्षेत्र पुरेर घडेरी बनाइदै !

पोखरा न्यूज – २१, साउन । पोखरा महानगरपालिका-२४ मा सिमसार क्षेत्र पुर्ने काम रोकिएको छैन । यसअघि पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा न्यूजलाई उक्त काम तत्काल रोक्न निर्देशन दिने बताए पनि उक्त काम अझै रोकिएको छैन ।

महानगरको कनेक्टिङ रोड अन्तर्गत सडक चक्लाबन्दी गर्ने क्रममा सिमसार क्षेत्रमा डाँडा कटानबाट निस्केको ढुंगा, माटो स्थानीय हरि भण्डारी र मनोज कुँवरको दलदल भएको जग्गामा हालेका हुन् । स्थानीयका अनुसार पामे, चंखपुर लगायतको क्षेत्रमा विभिन्न बहानामा व्यक्तिगत स्वार्थको निम्ति दलदल पुरेर घडेरी बनाउने उद्धेश्यले अझै पनि सिमसार क्षेत्रमा पुरपार भइरहेको छ ।

यतिबेला महानगरको २ वटा स्काभेटर प्रयोग गरेर धमाधम बाटो चक्ल्याउने नाममा सिम युक्त भू-भाग पुरेर व्यक्तिको घडेरी बनाउने    काम भइरहेको स्थानीय बताउछन  । स्थानीय  भण्डारी र कूँवरकै जग्गा कटान गरेर उनीहरुकै सिमसार युक्त  भु-भाग पुर्न सहयोग गर्ने काम महानगरबाटै भइरहेको स्थानीयको भनाइ छ ।बर्षा यामको  समयमा जथाभावी रुपमा सडक बनाउने नाममा डाँडा कटान गरी फेवातालको सिरान भाग दलदल रहेको ठाउँमा माटो हालेर पुर्ने काम भएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन् ।

बाटो चक्ल्याउने कामको ठेक्का पाएका ‘चन्द्र बिष्णु कन्स्ट्रक्सन’का ठेकेदार सोम गुरुङले महानगरले स्थानीय जग्गा धनीले भने अनुसार गर्नु भनेकाले दुई वटा स्काभेटरको प्रयोग गरेर डाँडा कटान गरिरहेको बताउछन् । ‘हामीले त जे गर भन्यो त्यही गर्ने हो,’ उनले भने, ‘हामीले डाँडा कटान गरिरहेका छौं । दुईवटा टिपरबाट  माटो ओसार्दै बाटोको अर्को  क्षेत्रमा पुर्ने काम भइरहेको छ ।’ यसअघी सोहि जग्गा नजिक धान समेत रोप्न नमिल्ने गरि गेग्रानले सिमसार क्षेत्र पुरेर घडेरी नै बनाइएको छ ।

 

यस अघिको पोखरा न्यूजको समाचारमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पामे क्षेत्रमा पानी भएको क्षेत्रमा कसैले अनुमति बिना माटो पुर्न नपाउने बताएका थिए । उनले सिमसार एवं पानी भएको कुनै पनि दलदल क्षेत्रमा जथभावी रुपमा कसैले अनुमति बिना पुर्ने काम गरेको भए उनीहरु उपर हामी कारवाही गर्न बाध्य हुने समेत बताएका थिए । तर, काम रोकिनु त परैको कुरा थप पाँच गुणा बढी सिमसार क्षेत्र पुरिसकेपछि किन रोकिएन त ? भन्ने हाम्रो प्रश्नमा मेयर जीसीले तत्काल केही पहल थाल्ने बताए र फोन राखे ।

यता पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले सडक छेउमा माटो अड्याएर राख्न अप्ठ्यारो भएकाले सिमसार क्षेत्रमा राखेको बताए । ‘कटिङको क्रममा निस्केको माटो व्यवस्थापन गर्न अप्ठ्यारो पर्यो,’ उनले भने, ‘डिलमा माटो अड्याएर राख्न पनि गाह्रो ! व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि सिमसार क्षेत्र पुरियो ।’

माटो व्यवस्थापनका लागि मेयरसामु पनि कुरा पुर्याएको उनले सुनाए । महानगरमा बैठक बसेर ठेकेदारसँग कुरा गरि तत्काल व्यवस्थापनका लागि महानगर लागिपरेको उनले सुनाए ।

‘रामसार सिमसारमा राज्यले गाडि उडाएर लैजाओस्’ : जग्गाधनी

सोही क्षेत्रका जग्गा धनी मध्येका एक हरि भण्डारीलाई सम्पर्क गरेर यसबारे बुझ्न खोज्दा रामसार र सिमसार भनेर राज्यले व्यक्तिको जग्गा हडप्न नपाउँने भन्दै आक्रोश पोखे । ‘लालपुर्जा सहितको जग्गालाई रामसार र सिमसारको नाममा व्यक्तिले हडप्न पाउँदैन,’ उनले भने, ‘रामसार र सिमसार नै बनाउने हो भने उचित क्षतिपुर्ति देओस् ।’

आफूँहरु विकास विरोधी नभएको उनको तर्क छ । ‘हामी विकास विरोधी होइनौं,’ उनले भने, ‘हाम्रो आफ्नो जग्गालाई रामसार र सिमसार भनेर भन्छ भने यि जग्गामा राज्यले गाडि उडाएर लैजाओस् ।’

यो पनि पढ्नु होस्:-

सडक चक्ल्याउने नाममा फेवाताल सिरानको सिमसार क्षेत्र पुरिदै

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button