बडीगार्ड खोलाको बाढीले बगाएको लोकमार्ग खुल्न अझै ३ साता लाग्ने

रामबहादुर थापा, पोखरा न्यूज – २२, साउन । बडीगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा सोमबारदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अवरुद्ध छ । तुरतुरे ताल फुट्दा बडीगार्ड खोलामा आएको बाढीले लोकमार्ग बगाएको थियो ।

लोकमार्ग खुल्न अझै तीन साता लाग्ने जनाइएको छ । लोकमार्ग आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । “भदौ १० गतभित्रै यातायात नियमित गर्ने लक्ष्य छ”, उनले भने, “ब्रेकर लगाएर पहरा काटनुपर्ने भएकाले समय बढी लाग्ने भयो ।”

तल बाढीको कटान र माथि भीर भएकाले एउटा भन्दा बढी डोजर प्रयोग गर्न नसकिने उनको भनाइ थियो । बाढीले झण्डै साढे दुई सय मिटर सडक भत्काएको छ । अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ ।

लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । “नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्षपनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।

पहिरोले बडीगार्ड खोला थुनिँदा करीब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ ।

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बूर्तिवाङबाट छोटो तथा लामो दुरीमा चल्ने सवारीसाधन ठप्प छन् ।

लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगार्ड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बूर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् ।

लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए । “हिँड्ने बाटो पनि साह्रै जोखिमयुक्त छ” उनले भने, “बिरामी, बालबच्चा, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।”

अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारी साधन वारिपारी भएर चलेपनि खाद्यन्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ । लोकमार्ग नियमित हुन ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने स्थानीयवासी बताउँछन् ।

बडीगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए । “तलको भन्दा यो सडक छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ”, उनले भने, “साता/दश दिनमै तुरतुरेमा जोड्न सकिने सम्भावना छ ।”

उक्त सडक झण्डै एक किमि दुरीको छ । तीन सय मिटर मार्ग यसअघि नै खोलिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलगायतको टोलीले मङ्गलबार स्थलगत अनुगमन गरेपछि लोकमार्ग छिटो सञ्चालनका लागि सोही मार्ग प्रयोग गर्न सुझाएको थियो ।

मध्यपहाडी लोकमार्गका इञ्जिनीयर गौतमले भने उपल्लो बाटोमा धेरै घुम्ती बनाउनुपर्ने भएकाले तुरतुरेमा थप जोखिम निम्तिने बताए । “पहिले पहिरो गएकै ठाउँ माथिबाट दुई/तीनवटा घुम्ती निकाल्नुपर्छ”, उनले भने, “प्राविधिक हिसाबले त्यो झन् जोखिमपूर्ण छ, अर्को समस्या निम्त्याउँछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button