लामाचौर तिज महोत्सवलाई सफल पार्न बिभिन्न संघ सस्थाको सहयोग

दीननाथ बराल, पोखरा न्यूज – २३, साउन ।  महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पोखराको लामाचौरमा आउदो भदौं १२ गतेदेखि संचालन हुने लामाचौर तिज महोत्सव २०७६ लाई डिसहोम टेलिभिजनले साथ दिने भएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भदौं १६ गतेसम्म संचालन हुने महोत्सवलाई सफल पार्न डिसहोमले मुख्य-प्रायोजकको रुपमा सहयोग गर्ने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षत्रीले बताए ।

मुख्य-प्रयोजक वापत डिसहोमले विज्ञान सहित करिब ५ लाख रुपैया सहयोग गर्ने भएको समाजले जनाएको छ । त्यसैगरी अन्तर मावि छात्रा भलिबल प्रतियोगितालाई सफल पार्न एकता बुक्स डिष्ट्रिव्यूटर प्रालि, अन्तर मावि लोक नृत्य प्रतियोगितालाई सफल पार्न पवित्र गणेश सप्लायर्सले टाइटल प्रयोजकको रुपमा सहयोग गर्ने भएको प्रचार संयोजक क्षत्रीले जनाए ।

त्यसै गरी खुल्ला एकल नृत्य प्रतियोगितालाई सफल पार्न एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेशले साथ दिने भएको छ भने समुहगत तिज गित प्रतियोगितालाई सफल पार्न दि यूनाइटेड गोल्ड मार्ट प्रालिले टाइटल स्पोन्सनको रुपमा सहयोग गर्ने भएको समाजले जनाएको छ ।

पोखरा महानगरपालिका-१९ स्थित पुरुन्चौर क्षेत्रमा समाजले स्थानिय आमा समुह, क्लब, विद्यालय तथा विभिन्न संघ संस्थाहरुसंग छलफल गरेको छ । छलफलमा स्थानिय आमा समुह, क्लब, विद्यालय तथा विभिन्न संघ संस्थाहरुले महोत्सवलाई सफल पार्न आफुहरु कटिबद्ध रहेको भारतिय मावि व्यावस्थापन समितिका अध्यक्ष दीपक पौडेलले बताए । स्थानिय युवाहरुलाई महोत्सवमा समेट्न आफुहरु तयार रहेको स्थानिय एक युवा इमानराज पौडेलले जनाए ।

उक्त महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुले आ-आफनो जिम्मेवारी बहन गर्दै गर्दा हालसम्म करिब २५ लाख रुपैया संकलन हुने पक्का भएको प्रचार संयोजक क्षत्रीले जनाए । बचन सहित केही नगद गरी उक्त रकम हालसम्म संकलन भएको बताएका खत्रीले महोत्सव सम्पन्न गर्न बाँकी १५ लाख ६२ हजार संकलन गर्न समाज लागि परेको जनाए । यस बर्ष समाजले नयाँ प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नाकोड्र्स आइडल( एकल खुल्ला नृत्य प्रतियोगिता गर्दैछ।

“मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए । महोत्सवबाट हुने बचत रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

महोत्सवको अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस बर्ष निरन्तरता पाउने भएको छ । त्यसैगरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता, अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, लगातका प्रतियोगिताहरु हुने भएको छ । राष्ट्रिय कलाकारको प्रस्तुती, बाल उद्यान, व्यापारीक स्टलहरुको प्रर्दशनी, श्रष्ठा सम्मान लगायतका कार्यक्रमहरु समेत हुने भएका छन्। महोत्सवको सम्पूर्ण तयारीलाई भने तिव्र पारिएको समाजले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button