पोखरामा २१ जनामा डेंगु संक्रमण : सचेतना अभियान शुरु

दीननाथ बराल, पोखरा न्यूज – २४, साउन । पोखरामा गत बर्ष असोजको पहिलो सातामा भेटिएको डेंगु संक्रमण यस बर्ष भने साउन महिनाको तेस्रो सातामै  देखिएको  छ । पोखराका विभन्नि क्षेत्रमा हालसम्म  २१ जनामा डेंगु संक्रमण भेटिएसंगै सचेतना अभियान समेत शुरु गरिएको हो ।

गत बर्ष असोज ३ गतेदेखि भेटिएको डेंगु यस बर्ष साउनको तेस्रो सातामै देखिनुले पोखरामा डेंगु संक्रमणको धेरै जोखिम भएकोले यसमा सबै सचेत हुनु पर्ने समय आएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल यम बरालले बताए । उनले भने “घर वरिपरि कहि कतै पानी कुनै भाडा वा वस्तुमा रहेमा लामखुट्टेले कुनै पनि समयमा फुल पार्न सक्छ अनि जुन लामखुट्टेको टोकाबाट डेंगु सर्न सक्ने प्रवल सम्भावना हुन्छ । ” उनका अनुसार पोखरा महानगरपालिकाको स्वास्थ्य विभाग, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको टोलीले डेंगु सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घरदैलो कार्यक्रममा जुटेका छन्।

गत बर्ष पोखरामा एक सय २७ जनामा डेंगु संक्रमण देखिएको थियो । बर्षातको समय सकिएसँँगै हिउँदको समय शुरु हुने मौसममा सफा पानी कुनै खुल्ला भाडामा धेरै दिनसम्म  राख्नले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने बरालले बताए । डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्ने भेक्टर कन्ट्रोल बरालले बताए । उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ४, ८, ९, १७, २५ मा डेंगु संक्रमणका बिरामी भेटिएका हुन् । त्यसैगरी धरानबाट पोखरा घुम्न आएका दुई जना र स्याङजा र तनहुँबाट समेत एक एक जनामा डेंगु संक्रमण भेटिएको बरालले जनाए ।

यसै बिच, पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा स्वास्थ्यकर्मीको विभिन्न टोलीले डेंगु घर घरमा पुगेर  पानी जमेको ठाउँमा  भएका लामखुट्टेको फुल (लार्वा) नष्ट पार्ने  काम  र सचेतना फैलाउने कामको  सुरुवात गरिएको छ । पोखरा ८ मा गण्डकी मेडिकल कलेजको ५ वटा समुह र पोखरा ९ मा मणिपाल शिक्षण अस्पतालको  ५ समुहले घर दैलो कार्यक्रममा  डेंगु सचेतना सहितको सरसफाई गर्ने अभियानमा लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर  डा. भोजराज गौतमले बताए । वडाहरुमा महिला स्वयम सेविका, जनप्रतिनिधिहरुले डेंगु सचेतना सम्बन्धि सचेतना जगाउदै गरेको बताएका उनले सकभर जाली लगायर घर भित्र बस्ने, लामो कपडा लगाउन सुझाव दिए ।

वान्ता हुने, शारीर कमजोर हुने, खानामा रुचि नहुने, शरीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिना साथ नजिकको अस्पतालमा उपचार गर्न जानुपर्छ । लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सवै समुदायका प्रतिनिधिहरु सचेत र सजग हुनु आवश्यक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button