दीननाथ बराल, पोखरा न्यूज – २५, साउन । पोखरामा थप ६ जनामा डेंगु संक्रमण भेटिएको छ । शुक्रबार ६ जनामा डेंगु संक्रमण भेटिएसंगै पोखरामा यस बर्ष २७ जनामा डेंगु भेटिएको हो ।
पोखरामा डेंगु संक्रमणको अझै उच्च जोखिम भएकोले उच्च सावधानी अपनाउन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले बताए । उनले भने “डेंगुको लागि २० देखि ३० डिग्रीसेल्सियसको तापक्रम आवश्यक पर्छ, जुन तापक्रम पोखरामा यति बेला रहेको छ, पोखराका प्राय गरी ८ र ९ वडाहरुमा बढी डेंगु संक्रमणको चुनौती रहेको छ ।
”सबै आम जनताले आफ्नो घर र घर वरिपरि भएका खुल्ला भएका पानीका भाडाहरुको ढक्कन लगाउने वा पानी जम्न नदिनु र लामखुट्टेको टोकाइबाट बच्न उत्तम उपाय भएको डा.गौतमले बताए । एउटा लामखुट्टेले एक पटकमा ६० देखि एक सय ८० वटासम्म अण्डा पार्ने भएकोले यस्तो समयमा लगातार दुई हप्तासम्म सबै पोखरेलीहरुले आफ्नो घर-घर र घर वरिपरि सरसफाई र पानी जम्न नदिने तथा लामखुट्टेको लार्भा भएको भए नष्ट पार्नुपर्ने उनले सुझाव दिएकाछन्।
पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा विशेष गरी धेरै डेंगु संक्रमणका बिरामीहरु भेटिएको उनका अनुसार अन्य महानगरका १, २, ४, ५, ६, १०, १७, २५ वडाहरुमा डेंगु संक्रमणका बिरामीहरु भेटिएको हो । डेंगुका करिब ५० प्रतिशत जसो बिरामीहरु अस्पतालमा उपचार भइ रहेको डा. गौतमले जनाए ।
पोखरा महानगरपालिकाको स्वास्थ्य विभाग, पोखरा महानगरपालिका वडा नम्बर ८ र ९, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको टोलीले डेंगु सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा जुटेकाछन्। शनिबार पनि पोखराका विभिन्न ठाउँमा डेंगु सचेतना कार्यक्रम गरिएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए ।
गत बर्ष असोजको पहिलो सातामा भेटिएको डेंगू संक्रमण यस बर्ष भने साउन महिनाको तेस्रो सातामै पोखरामा भेटिएको हो । गत बर्ष असोज ३ गते देखि भेटिएको डेंगु यस बर्ष साउनको तेस्रो सातामै देखिनुले पोखरामा डेंगु संक्रमणको धेरै जोखिम भएकोले यसमा सबै सचेत हुनुपर्ने समय आएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कट्रोल यम बरालले बताए ।
उनले भने “घर वरिपरि कहि कतै पानी कुनै भाडा वा बस्तुमा रहेमा लामखुट्टेले कुनै पनि समयमा फुल पार्न सक्छ अनि जुन लामखुट्टेको टोकाईबाट डेंगु सर्न सक्ने प्रवल सम्भावना हुन्छ । ” उनका अनुसार पोखरा महानगरपालिकाको स्वास्थ्य विभाग, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको टोलीले डेंगु सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा जुटेका छन्।