दीननाथ बराल, पोखरा न्यूज – २७, साउन । पोखरामा दैनिक जसो डेंगु संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको छ ।
शनिबार थप २ जनाममा भेटिएको डेंगु संक्रमण आइतबारसम्म थप ५ जनामा भेटिएकाले पोखरामा दैनिक जसो डेंगुका बिरामीहरुको सङख्यामा वृद्धि हुँदै आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले बताए ।
पोखरामा यस बर्ष हालसम्म ३४ जनामा डेंगुका बिरामी भेटिएको उनले जनाए । पोखराका विभिन्न अस्पतालमा हाल ११ जनाको उपचार भइरहेको डा. गौतमले जनाए । पोखराका विभिन्न अस्पतालमा झुल सहित छुट्टै कोठामा राम्रो रेखदेखका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले दाबी गरे ।
हाल लामखुट्टेको फेवर मौसम भएकाले पोखरामा डेंगु संक्रमणको अझै उच्च जोखिम भएको रहेको भन्दै सावधानि अपनाउनु पर्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अपिसर डा. गौतमले बताए । लामखुट्टेको वासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाई छ ।
कास्की बाहेक गण्डकी प्रदेशका स्याङजाका दुई जनामा र तनहुँका एक जनामा डेंगु पोखरा आउदा भेटिएको डा. गौतमले जनाए । यस बर्ष भने प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए । डाक्टर अध्ययन गर्दै गरेका विद्यार्थीदेखि सामान्य मजदुरहरुलाई समेत डेंगु संक्रमण भेटिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा विशेष गरी धेरै डेंगु संक्रमणका बिरामीहरु भेटिएको छ भने पोखराका १, २, ४, ५, ६, १०, १७, २५ वडाहरुमा डेंगु संक्रमणका बिरामीहरु भेटिएको हो । पोखरामा विभिन्न संघ संस्थाको अगुवाईमा डेंगू सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा भई रहेको छ ।