तनहुँको छाब्दीबाराही मन्दिर जाने बाटोको कालोपत्र २ हप्तामै भत्कियो

कृष्ण न्यौपाने, पोखरा न्यूज – २७, साउन ।  तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ । दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा ट्याक्टरको कारण सडकको केही भाग भत्किएको हो ।

छाब्दी बसपार्क नजीकैको सो सडकमा दुई हप्ताअघि मात्र कालोपत्र गरिएको थियो । तर आलो सडकमै लोड ट्र्याक्टर हिँडाएका कारण सडकको केही भाग भत्किएको छ । खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पाङ्ग्राले सडक किनाराको केही भाग भत्काएको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोडको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयवासीले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् । तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताहरुको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीयवासी बताउँछन् ।

सङ्घीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ को कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८०० मिटर सडकमा पक्की नालासहित कालोपत्र गरिएको थियो । भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको रु दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको रु एक करोड बजेटबाट कालोपत्र गरिएको हो । सङ्घ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्सट्रक्शन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्शनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसी पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती सडकमा लगिँदा सडक भत्किएको बताए  । भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उनले शाखा सडकभन्दा निर्माण गरिएको सडक अग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा सडक भत्किएको जानकारी दिए ।

भौतिक पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले सडक कालोपत्रको गुणस्तरमा कुनै कमजोरी नभए पनि तत्कालै लोड ट्र्याक्टर हिँडाएको कारण सडकमा क्षति पुगेको बताए । यस बारेमा अझ स्थलगत अध्ययनपछि थाहा हुने भन्दै भण्डारीले उक्त कालोपत्रको भुक्तानी भइनसकेको हुँदा गुणस्तरहीन काम भएको भए भुक्तानी रोक्ने जानकारी दिए ।

छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button