तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराहीको गुरुयोजना तयार

कृष्ण न्यौपाने, पोखरा न्यूज – २७, साउन । तनहुँको व्यास–१४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरको गुरुयोजना तयार भएको छ । छाब्दीबाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो ।

छाब्दीबाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकीकरण र फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवर्द्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।

मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछा लगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने लगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीबाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको गुरुयोजना निर्माणका संयोजक एवं पोखरा क्याम्पसका उपप्राध्यापक श्रीकान्त खतिवडाले जानकारी दिए । उनका अनुसार मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्ग ढुङ्गा बिछ्याउने, बराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

गुरुयोजनाअनुसार अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमका लागि रु एक करोड ९६ लाख ४० हजार बजेट आवश्यक पर्दछ । छाब्दीबाराही मन्दिर आउने भक्तजनलाई आकर्षित गर्न मन्दिर परिसरमा १० फिटका मत्स्यदेवीको मूर्ति प्रतिस्थापन गरिसकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button