तनहुँमा गाँजा फँडानी अभियान

पोखरा न्यूज – २७, साउन ।  जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालयले अवैध गाँजा फँडानीलाई अभियानका रुपमा सञ्चालन गरेको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीयवासीको सहयोग र सक्रियतामा गाँजा फँडानीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । “गाउँघरमा गाँजा खेती भइरहँदा युवाको आवतजावत बढ्ने र त्यस्ता युवाहरुले विभिन्न प्रकृतिका घटना घटाउन सक्ने भएकाले गाउँ–गाउँमा गाँजा फँडानी गर्ने अभियान चलाएका छौँ”, सिलवालले भने, “गाँजा फँडानीका लागि युवा क्लब, आमा समूहलगायत स्थानीयवासीको सकारात्मक सहयोग पाएका छौँ ।”

शुक्लागण्डकी नगरपालिकामा केही दिनयता वडाका विभिन्न ठाउँमा गाँजा फँडानीलाई व्यापक बनाइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा शुक्लागण्डकी नगरपालिका–१२ मा एक हजार ५०० गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यालय शुक्लागण्डकीका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–८ स्थित सफलटोलमा पाँच सय गाँजाको बोट नष्ट गरिएको छ ।

ग्रामीण भेगमा औषधिका लागि भनेर गाँजाको बोट संरक्षण गर्ने गरिएको भेटिएको छ । “यसले लागुऔषध प्रयोगकर्ताहरु बढ्न सक्ने भएकाले गाँजा फँडानी गरिएको हो”, उनले भने । आमा समूह, युवा क्लब लगायतको सक्रियतामा गाजाको बोट नष्ट गरिएको छ । नगरपालिकाका अन्य ठाउँमा गाँजा खेती गरेको पाइए नष्ट गरिने बताइएको छ।

प्रहरीले केही समयअगाडि मात्रै भानु नगरपालिका–६ स्थित डाँडाथोक, बरभञ्ज्याङ र मान्द्रेमा दश हजार गाँजाको बोट फँडानी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले कानूनले अवैध मानेको गाँजाको खेती गर्न नहुने भन्दै प्रहरीले सञ्चालन गरेको गाँजा फँडानी अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

सामुदायिक सेवा केन्द्र दमौलीका अध्यक्ष दुर्गाभक्त अधिकारीले युवालाई कुलतबाट जोगाउन प्रहरीले सञ्चालन गरेको गाँजा फँडानी अभियानलाई स्थानीयवासीले सहयोग गर्नुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button