पोखरा न्यूज – २७ , साउन । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुक्तिनाथ रानीपौवा मुस्ताङ क्षेत्रमा शुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा शुरु भएको महोत्सव बिहीबारसम्म चल्ने छ ।
महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री गुरुङले घोडामा चढेर महोत्सव शुरु गरेका थिए ।
‘यार्तुङ’को शाब्दिक अर्थ ‘यार’ बर्खा र ‘तुङ’ मेला भन्ने हुन्छ । बर्खायामलाई बिदाई गर्ने पर्वको रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाईन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको स्थानीय बताउँछन् ।
गाउँपालिकाकी उपाध्यक्ष डिकी गुरुङले ‘यार्तुङ’ ऐतिहासिक महत्व बोकेको मेला रहेको बताइन् । ‘यार्तुङ मुस्ताङको चिनारी पनि हो,’ उनले भनिन्, ‘बर्खायाम सकिएर हिउँद सुरु हुँदा रमाइलो हुने भएकाले पनि यो मेला मनाइन्छ ।’ विशेषगरि घोडचढी कौशल देखाउँने महोत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाँच, स्थानीय परिकार, साँस्कृति कार्यक्रम, हिमाली याक लगायत अन्य खेलकुद प्रस्तुती पनि जोडिने उनले जानकारी दिइन् ।
मेलामा ३.५ र १.५ किलोमिटर गरि दुई फरक दुरिको घोडा दौड प्रतियोगिता, सेभेन ए साइड फुटबल र विभिन्न जातजातिको भेषभुषा समेत प्रदर्शन गरिने छ । घोडा दौडमा विजेता हुनले ५०, दोस्रोले ३० र तेस्रो हुनले २० हजार पाउँने छन् ।
मेला अवधि भर १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष लिएको छ । केही वर्ष यता स्थानीय युवा क्लब आयोजना गर्दै आएको महोत्सव यसपालि गाउँपालिका र क्लबको संयुक्त आयोजनामा शुरु भएको हो ।