पोखराको न्युरोडमा आगलागी हुँदा करिब ७ करोडको क्षती, ३२ सटर जलेर नष्ट

दीननाथ बराल, पोखरा न्यूज – २८, साउन । पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा मिनी मार्केटका प्रायः सबै  सटरका सामानहरु जलेर नष्ट भएका छन्। दिउँसो एकाएक आगलागी हुँदा ३२ सटरका ७ व्यवसायीको प्रायः अधिकांश  माल-सामानहरु जलेर नष्ट भएको एस मिनी मार्केटका संचालक युवा व्यवसायी यदुनाथ अधिकारीले पोखरा न्यूजलाई  बताए ।

उनका अनुसार मार्केटमा आगलागी हुँदा करिब ७ करोड मुल्य बराबरको क्षती भएको छ । दिउँसोको समयमा आगलागी भएको हुँदा आगलागी हुन साथ हार गुहार गरी पसल संचालक तथा ग्राहकहरुलाई मार्केटबाट समयमै बाहिर निस्कन सफल हुनाले मानविय क्षति हुनबाट बचाउन सफल भएको स्थानिय बोधराज कार्कीले बताए ।

उनले भने“ हामी मार्कैट नजिकै थियौं एकाएक मार्केटको बिच भागबाट आगोको मुस्लो सहित कालो धुँवा आयो अनि हामीले लौ न नी कहाँबाट आगलागी भयो भन्दै प्रहरीलाई खबर गर्नुदेखि मानिसहरुलाई बचाउन अनि मार्केट नजिकका पसलका सामानहरु हटाउन लाग्यौं । ” मार्केट भन्दा दुई घर दक्षिण तर्फ सिटिजन्स बैंक रहेको छ ।

बैंकका सुरक्षागार्ड मानसिंह गुरुङका अनुसार युनिक फर्म पसलको भागबाट आगो लागेको थियो । न्यूरोड जस्तो क्षेत्रमा आगलागी भएको करिब २० मिनेट पछि मात्र दमकल आएको स्थानिय माया गिरीले गुनासो गरिन् । उनले भनिन“ हामीले समयमै दमकललाई खबर गर्न लगाएका थियौं, मार्केटको बिच भागबाट सानो आगोको ज्वाला निस्केकोमा करिब ७ मिनेटमै ठुलो कालो मुस्लो सहित आगोको ज्वाला निस्केकोे थियो, यदि समयमै दमकद आएको भए मार्केट जोगाउन सकिन्थो । ”

मंगलबार दिउँसो करिब ४ बजे तिर लागेको आगो करिब डेढ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । युनिक फम हाउसबाट आगलागी शुरु भएको हुन सक्ने कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उनले बताए । फम हाउसमा लागेको आगो धेरै सामानहरु भएको साना साना  कोठाहरुमा फैलिएको र  मिनी मार्केटमा माथि टिनले छाएको हुँदा मार्केटका अधिकाशं सामानहरु जोगाउन नसकिएको एसपी कार्कीले जनाए । आगो नियन्त्रण गर्न प्रदेशको विपद व्यवस्थापनको टोली सहितकोे सुरक्षाको अधिकाशं फोर्स परिचालन गरिएको एसपी कार्कीले पोखरा न्यूजलाई बताए  ।

आगो नियन्त्रणमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानिय, पोखरा महानगरपालिकाका ३ वटा दमकल र पानी सप्लायर्सहरुका पानी ट्याङकरहरुको सहयोग र साथबाट आगो नियन्त्रणमा लिएको हो । समयमै सावैको साथ र सहयोगले गर्दा आगोलाई मिनी मार्केट भन्दा अन्य क्षेत्रमा फैलिन नदिन सफल भएको थियो ।

अधिकारी सहित पोखरा उद्योग बाणिज्य संघका महासचिव समेत रहेका युवा व्यवसायी अर्जुन पोख्रेलले ६ बर्ष अघि करिब एक करोडको लागतमा झण्डै डेढ रोपनी जमिनमा उक्त मिनी मार्केट संचालन गरेका थिए । मार्केटसंगै रहेको शिवशक्ति फर्निचरका सामानहरु सुरक्षाकर्मी तथा स्थानियले बाहिर निकालेर आगोबाट बचाएका थिए । मार्केट भन्दा करिब ५० मिटर उत्तर पश्चिम पट्टि भाट-भाटेनी सुपर मार्केट रहेको छ ।

सन्तोस ढुंगनाले संचालन गरेको फम हाउसमा करिब ९ वटा सटर रहेका थिए । त्यस्तै धुर्व इलेक्टोनिस, काठमाण्डौं झोल मःमः पसल, विना कुर्था एण्ड साडी हाउस, शुभकामना क्याफे, सिता कलेक्सन फेन्सि हाउस र एउटा चश्मा पसल समेत उक्त मार्केटमा रहेका थिए । व्यवसायीहरुले १० लाखदेखि करोडौंसम्म लगानी गरेको जनाएका छन्। अधिकाशं पसलहरुको बिमा नहुँदा जेनतेन संचालन गरेका व्यवसायीहरुलाई मिनी मार्केट नै जलेर नष्ट हुँदा ठुलो आर्थिक क्षति भएको गुनासो गरेका छन्।

पोखराको न्यूरोडमा दिउँसो कालो धुवाको मुस्लो आएसंगै पोखरेलीहरुको न्यूरोडमा करिब दुई घण्टासम्म ठुलो भिड नै लागेको थियो । मार्केटको पुर्व पट्टि न्यूरोड (सडक) र उत्तर तथा पश्चिम तर्फ साघुरो बाटो भएको कारणले गर्दा अन्य नजिकका पसलहरुमा आगलागी हुन पाएन्। मार्केटको दक्षिण तर्फसंगै जोडिएको शिवशक्ति फर्निचर रहेकोमा पुर्व सावधानि अपनाएकाले गर्दा फर्निचरसंगै रहेको सिटिजन्स बैंक समेत बचाउन सफल भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button