पोखरामा सम्पन्न तायमचाको उपाधी भिमसेन टोललाई

पोखरा न्यूज -०१, भदौ । गाइजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगिताको उपाधी भिमसेन टोल तायमचा समितीले जितेको छ । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा भएको गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिता भएको थियो ।

जितसंगै भिमसेन टोलले नगद ३० हजारसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बड्गामी र तायमचा नृत्य प्रतियोगिताका संयोजक मानकाजी माकाजुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोस्रो भएको तेर्सापट्टी तायमचा समितीले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त  गर्यो । तृतिय स्थान हालिस गरेको नयाँबजार तायमचा समितीले १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो । सान्त्वना स्थान प्राप्त गरेको रानीपौवाले नगद रु ५ हजार पुरस्कार तथा मायाको चिनो पायो  । महिला टोलीको उपाधी भने बागबजार कचाः खलले जितेको छ । जितसंगै बागबजारले नगद १५ हजार र शिल्ड प्राप्त गरेको छ ।

विधागत रुपमा अन्तर्गत उत्कृष्ट ख्यालीको विजेता रानीपौवा, बाद्यबादन कुँडहर, उत्कृष्ट परि मोहोरिया टोल र उत्कृष्ट जोकर भिमसेन टोलले जितेको छ । प्रत्येक विधागत विजेताले रु २ हजार ५ सय पुरस्कार प्राप्त गरे। प्रतियोगितामा पोखराका बिभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा ६ वटा महिला टोली रहेको थियो ।

पोखराको महेन्द्रपुल सडकमा दुई दिनसम्म चलेको महोत्सवको पहिलो दिन शुक्रबार नेवारी साँस्कृतिक नृत्य, वाजा, तथा साँस्कृतिक कार्यक्रम भएको थियो । लाइभ कन्सर्ट अन्तर्गत  मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिएका थिए । चेतनामुलक मुलक साँस्कृतिक फेशनले पनि दर्शकलाई आकर्षित गरेको थियो । २० वटा स्टलमा नेवारी खानाको परिकारहरु राखिएको थियो ।

महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बडगामीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका थिए । पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो । २०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरुले प्रतियोगिता गराएका थिए । नेवाः खल कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकको जिम्मा महेन्द्रपुलले पाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button