साइकल यात्री श्रेष्ठलाई पोखरामा सम्मान

दीननाथ बराल, पोखरा न्यूज – ०२, भदौं । भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, पर्यटन प्रवर्द्धन गरौं भन्दै देश व्यापी रुपमा साइकल यात्रामा निस्केका कर्ण श्रेष्ठलाई पोखरामा सम्मान गरिएको छ । १ सय ८० औं विश्व फोटो ग्राफर दिवसको अवसरमा फोटो ग्राफर संघ गण्डकी प्रदेशले साइकल यात्री श्रेष्ठलाई उनको यात्राको सफलताको कामना गर्दै सोमबार सम्मान गरेको हो ।

साइकल यात्री श्रेष्ठलाई पोखरा उद्योग बाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ, संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, महासचिव तुल्सी प्रसाद सुवेदी लगायतले खादा र सम्मान पत्रले सम्मान गरेका हुन्। संघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागि हुँदै साइकल यात्री श्रेष्ठले  सम्मानले आफलाई थप हौसला मिलेको बताए । ४० औं जिल्लाको रुपमा कास्की आएका साइकल यात्री श्रेष्ठले देश भरका ७७ जिल्ला अबको करिब २ महिनामा भ्रमण तथा अध्ययन अवलोकन गर्ने लक्ष्य राखेको बताए ।

उनले भने “हाम्रो नेपालमा धेरै क्षेत्रमा जलबिद्युत, जडिबुटि, खनिज पदार्थ लगायको धेरै सम्भावना रहेको छ, हामीले हामीसंग भएका सम्भावनाको खोजी गर्नुपर्छ, यसै क्षेत्रबाट हामीले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । ” फोटोग्राफी तथा किराना पसल संचालक समेत रहेका खोटाङ दिक्तेलका ३४ बर्षीय युवा श्रेष्ठले खोटाङको दिक्तेलबाट गत चैत्र ३ गतेदेखि साइकल यात्रामा निस्किएका थिए ।

प्रदेश १, २, ३ र गण्डकी प्रदेशमा साइकल यात्रा गरेका उनले बाँकी प्रदेश सहितका ३७ जिल्ला आगामी दुई महिना भित्र यात्रा गरेर सक्ने बताए । साइकल यात्री श्रेष्ठ सोमबार पोखराबाट पर्वततर्फ प्रस्थान गरे । उनी पर्वत, बाग्लुङ, म्याग्दी हुदै मुस्ताङ सम्मको यात्रा गरेर पुनः पोखरा आएर स्याङजा हुँदै पाल्पा जाने छन्  । दैनिक २ हजार खर्च हुने गरेको बताएका श्रेष्ठले केही ठाउँमा उद्योग बाणिज्य संघ त केही ठाउँमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुको साथ र सहयोगले यात्रा जारी राखेको जनाए ।

देशमा दुई प्रकारको शिक्षाको अन्त्य गर्नुपर्ने बताउदै उनले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने माग राख्दै हिड्ने गरेको समेत जनाए । नेपालको वास्तविकता अझ नजिकबाट बुझन र बुझाउने उद्धेश्यले आफु कम खर्चमा यात्रा गर्न सकिने भएकाले साइकलको माध्यमबाट नेपाल भ्रमणमा निस्केको जनाए । प्रभातफेरी पोखराको मानव अधिकारचोकबाट शुरु भइ चिप्लेढुंगा, महेन्द्रपुल हुदै पुनः मानव अधिकारचोकमा पुगेर समापन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button