ऐतिहासिक बालासिद्ध मन्दिर ओझेलमा

सुशीला रेग्मी, पोखरा न्यूज – ०२, भदौं ।  पाल्पाको रामपुर नगरपालिका–१० स्थित कालीगण्डकीको किनारमा रहेको बालासिद्ध मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

मन्दिरमा गएर भाकल गरेमा मनको कुरा पूरा हुने जनविश्वासले दैनिक सयौँको सङ्ख्यामा दशनार्थीको भीड लाग्ने सो मन्दिर धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको भए पनि यसको यथेष्ट प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो ।

विसं २०२९ जेठ ६ गते बाटोमा हिँड्ने क्रममा च्याङ्गलिङ्ग क्षेत्रमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतकान्त भट्टराई, स्थानीय टीकाराम पाठक र चन्द्रबहादुर रिश्मेले गोरो देखेपछि मार्नका लागि लखेट्ने क्रममा ओढारभित्र पसेको थियो । गोरो खोज्दै जाने क्रममा ओढारभित्र देवता फेला परेको समितिका अध्यक्ष चेतकान्त भट्टराईले बताए । “ओढारभित्र गाईको थुन आकारका चित्र, विभिन्न देवी देवताका चित्र ओढारका भित्तामा छर पस्ट देखेपछि भगवान्का रुपमा स्थानीयले संरक्षण गर्दै त्यससमयदेखि नै नियमित पूजाआजा गर्न थालिएको हो”, उनले भने ।

यहाँ आएर मागेका कुरा पूरा भएपछि धेरैले विश्वास गरी पटकपटक मन्दिरमा पुजाआजाका लागी आउने गरेको उनले बताए । ओढारमा रहेको देवताको थानमा दुध चढाउनेको बढी घुईचो यहाँ लाग्ने गर्दछ । कालीगण्डकीको किनार नजिकै ओढारमा रहेको यस मन्दिरको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको मन्दिर संरक्षण समितिका सदस्य डिलप्रसाद लुईटेलले बताए ।

“कालीगण्डकीको करिडोर र कालीनदीको बिच भागमा रहेकाले यसलाई प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न सकिन्छ, सम्बन्धित निकायले संरक्षणमा बेलैमा नै चासो नदिँदा यो मन्दिर ओझेलमा परेको छ”, उनले भने।

अहिले ओढारलाई संरक्षण गरी मन्दिर आकारमा संरचना निर्माण गरेपछि पूजाआजा गर्न सहज भएको छ । श्रीपञ्चमी, ठूलो एकादशी, वैशाखे सङ्क्रान्ती, माघे सङ्क्रान्ति लगायतका पर्वमा यहाँ ठूलो मेला लाग्छ । मागेका कुरा पुग्ने भएपछि पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, नवलपरासी लगायतका विभिन्न स्थानका भक्तजन ठूलो सङ्ख्यामा मन्दिरमा आउने गरेको स्थानीयवासी यमनाथ पाठकले बताए।

आजभन्दा पाँच सात वर्ष अगाडिसम्म मन्दिरमा दूध चढाउन तथा पूजाआजा गर्नका लागि बास बसेरै भए पनि भक्तजन पुग्ने गर्थे । दैनिक १०० भन्दाबढीले मन्दिरमा दर्शन गरेर फर्कने गर्थे । अहिले सडक सुविधा पुगेपछि मन्दिरमा आउन जान सजिलो भएको छ । कालीगण्डकीमा स्नान गरेर सिधै मन्दिरमा पूजाआजा गर्न सहज हुने भएपछि अघिल्लो दिन बास बस्न पुग्ने गरेको स्थानीय बुढापाका बताउँछन् ।

अहिले भने सवारी साधनमा आएर मन्दिर दर्शन गरेर फर्कने गर्छन् । यस मन्दिरमा विवाह, व्रतबन्ध, रुद्री पूजालगायतका हिन्दू संस्कारका विभिन्न धार्मिक कार्य हुने गर्छ । मन्दिरमा भाकल गरेर मागेको कुरा पुगेपछि अर्कोपटक आउँदा नगद दान, मन्दिरका लागि आवश्यकपर्ने विभिन्न पूजाका सामग्री चढाउन आउने गरेको पाइएको छ । मन्दिरको भौतिक संरचना निर्माणका लागि स्थानीय टोपलाल भट्टराई र गङ्गाधर भट्टराईले तीन रोपनी, मित्रलाल पाठकले साढे एक रोपनी जग्गा सहयोग गर्नुभएको छ । मन्दिरमा अहिले पूजारी पद्मराज पोखरेलले दैनिक पूजापाठ र रेखदेख गर्दै आएका छन  ।

ओढारलाई संरक्षण गरी पूजाआजा व्यवस्थापनका लागि भौतिक संरचना, होमकुण्ड निर्माण गरिएको छ । साविक हेक्लाङ्ग गाउँ विकास समिति र रामपुर नगरपालिकाले पनि यसको व्यवस्थापनमा सहयोग गरेको छ । मन्दिरमा हालसम्म रु २५ लाख बराबरको काम भइसकेको समितिले जनाएको छ । कालीगण्डकीको किनार नजिकै रहेकाले पनि यो क्षेत्रको प्रचारप्रसार तथा भौतिक संरचना विकास गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्नेछ । यसलाई कालीगण्डकी वेंशीकै महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा पनि लिइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button