म्याग्दीमा १० हेक्टर खेतमा रोपाइँ भएन

पोखरा न्यूज – ०३, भदौं ।  यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।

हालसम्म जिल्लाभर कूल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जमीनमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल क्षेत्रफल दुई लाख २९ हजार ७०६ हेक्टर रहेकामा कूल खेतीयोग्य जमीन ३० हजार ८५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ । त्यसमध्ये १९ हजार ४८३ हेक्टर अर्थात् आठ दशमलव चार प्रतिशत क्षेत्रफलमा खेती गरिएकामा तीन हजार ८९८ हेक्टर जमीनमा मात्रै धानखेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरो र भू-क्षयबाट ११ हेक्टर जमीन नोक्सान भएको छ भने एक हजार ६८१ हेक्टर अर्थात् आठ दशमलव छ प्रतिशत जमीन मात्रै बाह्रै महीना सिञ्चित हुने गरेको छ । यसैगरी चार हजार ३२५ हेक्टर अर्थात् २२ दशमलव एक प्रतिशत मौसमी सिञ्चित जमीन रहेकामा ७५ हेक्टर जमीन बाँझै छ ।

म्याग्दीका कूल कृषक परिवार सङ्ख्या २२ हजार ४८० रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये तीन हेक्टर क्षेत्रफलको जमीन रियलस्टेटले ढाकेको छ । पछिल्लोे जनगणनाअनुसार म्याग्दीको कूल एक लाख १३ हजार ६४१ जनसङ्ख्यामध्ये ८९ हजार ९२० अर्थात् ८२ दशमलव दुई प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ । गत वर्ष कूल धानखेती हुने जमीन सबैमा खेती गरिएकामा यस वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हेक्टर जमीन बाँझै रहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए ।

धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा समेत छिट्टै रोपाइँ हुनुपर्ने भए पनि यस वर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाइँ भएको थियो । समयमै पानी नपर्नु, सिँचाइको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाइँ नभएको किसान बताउँछन् । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबूढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button