पोखरामा इ-टिकेटिङ सिस्टम लागु नगर्ने उपर कारवाही हुने

दीननाथ बराल, पोखरा न्यूज – ०३, भदौ ।  पोखराका  यात्रु बाहक बसमा इ-टिकेटिङ सिस्टम लागु नगर्ने उपर कारवाहीको तयारी शुरु भएको छ । यात्रु र व्यवसायीको हितको लागि ल्याइएको सिस्टम लागु नगर्ने उपर महानगरले जरिवाना सहितको सवारी संचालनमा रोक लगाउनेसम्मको कारवाहीको तयारी भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाको आव्हानमा संचालन भएको सिस्टम भदौं १६ गतेसम्म यात्रुबाहक बसमा जडान नभएको खण्डमा सवारीसाधन अनुमतिपत्र खारेज हुने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । यही भदौं १५ गते भित्र अनिवार्य रुपमा सम्पूर्ण पोखरा क्षेत्रमा संचालन हुने ८ वटा कम्पनीका यात्रुबाहक बसहरुमा इ-टिकेटिङ सिस्टम संचालन गरिने भएको उनले जनाए । उनका अनुसार यही भदौं ५ गते भित्र पोखराका अधिकाशं बसहरुमा उक्त सिस्टम जडान हुनेछ । यद्यपी व्यवसायीहरुले भने भदौं ६ गते देखि पूर्ण रुपमा सिस्टम लागु गर्न सकिने जनाएका छन्।

पोखरा क्षेत्रका ८ वटा बस कम्पनी, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु सहितको हालै सम्पन्न भएको एक बैठकमा भदौं १६ गते पछि यदि कुनै बसहरुमा इ-टिकेटिङ सिस्टम लागु नभए सवारी साधन संचालनको अनुमति पत्र खारेजीको लागि यातायात व्यावस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको बैठकमा सहभागि मध्येका एक अमृत शर्मा तिमिल्सिनाले पोखरा  न्यूजलाई  बताए । पोखरा बस कम्पनीका संचालक समेत रहेका तिमिल्सिनाले महानगरको स्मार्ट सिटि बनाउने अभियानमा सिस्टम लागु गरिएकोले यदि सिस्टम लागु नगर्ने उपर कम्पनी, संचालक, चालक, सहचालक तथा नियतवस कार्ड प्रयोग नगर्ने यात्रुलाई समेत कारवाही हुने भएको उनले जनाए ।

पोखराका छोटो दुरीका यात्रुबाहक  बसमा अनिर्वाय रुपमा भदौ १ गतेदेखि शुरु हुने भनिएको सिस्टम डिभाइस आउन ढिलाइ भएका कारण भदौं ५ गतेदेखि पोखरा क्षेत्रमा पूर्ण रुपमा लागुहुने व्यवसायीहरु बताउछन्। पोखरा बस कम्पनीका संचालक तिमिल्सिनाले भदौं १ गतेदेखि सबै बसहरुमा इ-टिकेटिङ सिस्टम लागुगर्ने भनेपनि हङकङबाट आउनु पर्ने डिभाईस आउन केही दिन ढिलाई भएकाले ढिलोमा भदौं ६ गतेदेखि पोखरामा अनिवार्य रुपमा इ-टिकेटिङ सिस्टम लागु हुने दाबी गरे ।

उनका अनुसार पोखरामा हाल करिब ५ सय वटा बसहरुमा इ-टिकेटिङ सिस्टमको लागि डिभाईस र सफ्टवेयर जडान भएको र बाँकी ३ सय भन्दा बढी बसमा केही दिनमै जडान गरिनेछ । यात्रुहरुले मेट्रो कार्ड खरिद गर्न १ सय ३५ रुपैया तिरेर पनि शुन्य ब्यालेन्समा कार्ड पाउने भएका छन भने अन्यथा पासपोर्ट साइजको १ प्रति फोटो र परिचय पत्र खुल्ने आइडि कार्डको फोटो कपिको आधारमा फारम  भरेर १ सय रुपैया ब्यालेन्स भएको कार्ड लिन सक्छन्। यात्रुसंग  एक सय रुपैया धरौटी स्वरुप लिइनेछ ।

सिस्टम लागु भएसंगै आर्थिक पारदर्शीता, भाडाको बिषयमा हुने विवाद अन्त्य हुने संचालक तिमिल्सिनाले बताए । यात्रुहरुले कार्ड प्रयोग गर्दा उनीहरुको रेकर्डसमेत हुने हुँदा यदी यात्रुले सामान बसमा छुटाएको अवस्थामा हराउने कम सम्भावना हुने संचालक तिमिल्सिनाले बताए । कार्ड प्रयोगकर्तालाई पोखरा बस कम्पनीले चढ्न साथ न्यूनतम १३ रुपैया, यदि नगद भाडा दिनेसंग १४ रुपैया लिने भएको संचालक तिमिल्सिनाले जनाए । कार्ड प्रयोग कर्तालाइ भने २० रुपैया भाडा लाग्ने ठाउँमा भने २ रुपैया छुट, ४० रुपैयासम्मको ४ रुपैया छुट र ५० रुपैयासम्म भाडा लाग्ने ठाउँमा ५ रुपैया छुटको व्यवस्था गरेको उनले जनाए ।  जेष्ठ नागरिकलाई दुई आरक्षण सिटसहित विद्यार्थीहरुलाई ४५ प्रतिशतसम्मको छुटको समेत व्यवस्था गरिएको उनले जनाए ।

ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारीले पहिलो चरणमा आफुहरुबाट १० हजार कार्ड वितरण गर्ने तयारी गरेको जनाए । उनका अनुसार करिब ७ सय कार्ड वितरण गरिएको छ । उनले भने  पहिलो चरणमा १० हजार प्रति कार्ड निःशुल्क रुपमा वितरण गर्ने छौं, ३ लाखसम्म कार्ड वितरण गर्ने योजनामा हामी रहेका छौं । ” कुनै कार्ड लिनुपरेमा वा रिचार्ज गर्नुपरेमा ओम डेभलपमेन्ट बैंकका कुनै पनि शाखा तथा पोखरा महानगरका कुनै पनि वडा तथा बस कम्पनीका काउण्टरबाट समेत सेवा लिन सकिने व्यवस्था मिलाएको सिइओ अधिकारीले जनाए ।

सिस्टम शुरु भएपछि यात्रुहरुले पहिलो पटक बसका सहचालकलाई कार्ड देखाएर स्मार्ट पोष्ट डिभाइस मेसिनमा छुने र झर्ने बेलामा पनि मेसिनजमा छुँदा आवश्यक शुल्क कार्डबाट काटिने एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले बताए । डिभाइस हाल अधिकाशं सह-चालकले घाँटीमा भिर्ने गरेका छन। आफुहरुले पोखरामा करिब ३ लाख कार्ड वितरण गर्ने तयारी गरेको जनाए । उनका अनुसार पोखराका ८ बस कम्पनी पोखरा बस, पृथ्बी राजमार्ग बस संचालक, श्रृङगा यातायात, स्थानिय
यातायात, विन्ध्यवासिनी यातायात, बेगनास यातायात, फेवा यातायात र मामा यातायात कम्पनी प्रालिका बस तथा मिनि माइक्रो बसमा उक्त कार्ड लागु हुने भएको होे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button