कार्तिक १५ भित्र साग लक्षित पूर्वाधार निर्माण हुन्छः मन्त्री विश्वकर्मा

दीननाथ बराल, पोखरा न्यूज – ०४ , भदौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साग लक्षित सबै पूर्वाधार निर्माणका कामलाई कार्तिक १५ गते भित्र सिमा निर्धारण गरेर अघि बढेको बताए ।

पोखरा रंगशालामा निर्माण हुँदै गरेका विभिन्न खेल पूर्वाधार निर्माणको बुधबार अध्ययन अवलोकन गर्दै मन्त्री विश्वकर्माले साग लक्षित आगामी कार्तिक १५  भित्र अधिकाशं खेल पूर्वाधार निर्माण हुने गरी द्रूत गतिमा निर्माण कार्य भएको दाबी गरे ।  बजेट अभावमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित कुनै पनि खेलकुदको भौतिक संरचनाको निर्माण कार्य नरोकिने मन्त्री विश्वकर्माले बताए ।

उनले भने “साग लक्षित पूर्वाधार निर्माणको लागि आवश्यक बजेट राष्ट्रिय खेलकुद परिषदबाट व्यवस्था मिलाइएको छ, थप बजेट आवश्यक परेमा मन्त्रालयले उपलब्ध गराउने पक्षमा छ । ” मंसिर १० देखि २४ गतेसम्म नेपालमा साग हुनु नेपालको इज्जत र प्रतिष्ठासंग जोडिएकाले निर्धारित मितिमा हुने र त्यसको लागि आवश्यक पूर्वाधार निर्माणमा हाल तिव्र गतिका साथ काठमाण्डौं र पोखरामा काम भईरहेको उनले जनाए ।

मन्त्री विश्वकर्माले भने “सागलाई कसरी हामीले सभ्य र भब्य रुपमा सम्पन्न गर्ने सकिन्छ भन्ने बिषयमा सबैले सोच्नु पर्ने समय आएको छ, साग तोकिएको मिति डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै हुन्छ, यसमा कसैले शंका गर्ने ठाउँ छैन । ”२०७२ मा हुनुपर्ने साग पुर्वधार निर्माण नभएको, भूकम्पले गर्दा पनि पहिला हुन नसकेको उनले जनाए ।

पोखरामा हुने प्याराग्लाइडिङको लागि आवश्यक टेक अफ र ल्याण्डिङको हालसम्म व्यवस्था नभएको बिषयमा मन्त्री विश्वकर्माले केही हप्तामा प्याराग्लाइडिङको उचित टेक अफ र ल्याण्डिङको व्यवस्था हुने दाबी गरे । उनले पोखरामा महिला क्रिकेट खेल समेत हुने विषयमा मन्त्रालय र राखेपमा कुरा चलेको बताए । महिला क्रिकेटको बैकल्पिक भेनुका रुपमा पोखराको क्रिकेट मैदानलाई लिएको उनले जनाए ।

पोखराको बहुउद्धेश्यीय कवर्डहलमा फिनिसिङ गर्न आवश्यक बजेट विनियोजन गर्न नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले मन्त्री सामु माग गरेका थिए । नेपाली ह्याण्डबलको टोलीलाई इनडोर हलमा दैनिक प्रशिक्षण गराउदै आएको अवस्थामा उक्त हलमा पार्केटीङ, साउण्ड सिस्टम सहितको सुविधा सम्पन्न हल बनाउन माग गरेका थिए ।  मन्त्री विश्वकर्माले टेनिस कोर्ट सहितको टेनिस प्यारापिट, आर्चरी, क्रिकेट मैदान, निर्माण हुँदै गरेको पोखरा फुटबल स्टेडियमको अवलोकन गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले पोखरा रंगशालामा निर्माण भइरहेका तथा भएका खेल पूर्वाधारको बारेमा मन्त्री विश्वकर्मालाई जानकारी गराए ।  फुटबल स्टेडियम निर्माण कम्पनीका ठेक्दार दीपक बरालले मंसिर पहिलो हप्ता भित्रै स्टेडियम करिब ८/१० हजार दर्शक सिट क्षमताको फुटबल स्टेडियम निर्माण गर्ने दाबी गरे । उनले भने “सकेसम्म हामीले निर्धारित समय सिमा भित्र १८ हजार सिट क्षमताकै स्टेडियम निर्माण गर्नेछौं , अन्यथा हामीले करिब १० हजार दर्शक सिट क्षमताको फुटबल स्टेडियम निर्माण गर्ने छौं । ” हाल फउण्डेसनको काम फुटट्याक, नाला लगायतको काम भईरहेको उनले जनाए ।

यसैबिच, जिल्ला र क्षेत्रिय खेलकुद विकासको छिट्टै ऐन आउने मन्त्री विश्वकर्माले बताए । उनले भने “नयाँ ऐन ल्याउने हिसाबले राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा आईसकेको छ, अब छिट्टै नै समितिले पनि समिति भित्रको छलफल प्रक्रिया  टुंगाएर सदनमा लैजाने गरी तयारी भईरहेको छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button