मर्यादाको बिषयललाई लिएर गण्डकी प्रदेश अन्तर्गतका वडा अध्यक्षहरु आन्दोलित

दीननाथ बराल, पोखरा न्यूज – ४, भदौ ।  गण्डकी प्रदेश अन्तर्गत  स्थानिय तहका वडा अध्यक्षहरु यतिवेला आन्दोलित भएका छन्।  वडाध्यक्ष र कार्यपालिका सदस्य सवैलाई एकै मर्यादामा राखिएको बिरोधमा प्रदेश  अन्तर्गतका  स्थानिय तहका वडा अध्यक्षहरु आन्दोलित भएको वडा अध्यक्ष मंच स्याङजाका संयोजक कमल विकास त्रिपाठीले बताए ।

गण्डकी प्रदेश सरकारको २०७६ असार १८ र २५ गतेको निर्णय प्रति आफुहरुको असहमती रहेको भन्दै उक्त निर्णय तत्काल फिर्ता नगरे आफुहरु थप आन्दोलन गर्ने संयोजक त्रिपाठीले चेतावनी दिएकाछन्। वडा अध्यक्षहरुले आफुहरुको पदिय जिम्मेवार तथा कामको आधारमा मुल्याङकन हुनुपर्ने माग गरेका छन्।

बुधबार प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङलाई वडा अध्यक्ष मञ्चको नामबाट ज्ञापन पत्र पेश गर्दै संयोजक त्रिपाठी सहितको टोलीले उक्त निर्णय त्रृटिपूर्ण भएको भन्दै तत्काल सच्चाउन आग्रह गरेका हुन्। मुख्य मन्त्रीले ज्ञापन पत्र बुझेर आफुहरुको कुरा समेत नसुनेको भन्दै आफुहरुसँग आन्दोलनको विकल्प नभएको संयोजक त्रिपाठीले बताए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा अध्यक्ष मंच गठन गर्ने उनले बताए । स्याङजाको अगुवाइमा सुरु भएको उक्त आन्दोलनमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रतिनिधि मुलक ११ जिल्लाका वडा अध्यक्षहरुको सहभागिता रहेको संयोजक त्रिपाठीले जनाए । उनले भने “ प्रदेश सरकारको गत असार १८ र २५ गतेको निर्णयले वडा अध्यक्ष र वोर्ड सदस्यलाई समान हैसियत हुने गरी व्याख्या गरिएको हुदा हाम्रो यसमा आपत्ति छ, यो बिषयलाई परिवर्तन गर्नुपर्छ, अन्यथा हामी बाध्य भएर आन्दोलन तर्फ लाग्छौं । ”

वडा सदस्यहरुलाई बिषयगत समितिको प्रमुख बनाएर, बिषयगत समितिको जिम्मेवारी दिएर सेवा सुविधा दिनुपर्नेमा स्थानिय शासन संचालन ऐन २०७४ लाई अध्ययन नै नगरीकन वोर्ड सदस्य र वडा अध्यक्षलाई एउटै मर्यादामा राख्नु अनुचित भएको स्याङजाको भिरकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका संयोजक त्रिपाठीले बताए । उनले भने “ वोर्ड सदस्यले कार्यपालिकाले तोकेको र बिषयगत समितिको प्रमुख वा संयोजक भएर काम गर्छन तर वडा अध्यक्षहरुले ५६ वटा विकास निर्माणका कार्यक्रममा सहभागि हुनु पर्छ र ३४ वडा प्रशासनिक कार्य गर्नुपर्छ, त्यो बाहेक १५ भन्दा बढी बिषयगत समिति तथा शाखाबाट विभिन्न आयोगहरुबाट तोकिएका कार्यहरु हुन्छन ।”

पोखरा महानगरपालिकाका वडा अध्यक्षहरु भने मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा खासै सहभागि भएनन्। पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले वडा अध्यक्षहरुको आन्दोलनको बारेमा आफुहरु अनविज्ञ रहेको प्रतिकृया दिए । प्रदेश सरकारले वडा अध्यक्ष र वडा सदस्यलाई एकै मर्यादामा राख्नु आफुलाई पनि चित्त नबुझ्ने कुरा गरेको गुनासो गरे । उनले भने “महिनाको एकपल्ट जसो बैठकमा बस्ने र दिनरात खट्ने अध्यक्षहरुलाई एकै नजरले हेरिनु हुदैन् । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button