श्रीकृष्ण जन्माष्टमीमा पोखरामा रथारोहण सहितको सांस्कृतिक कार्यक्रम हुने

पोखरा न्यूज – ०५, भदौ ।  यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पोखरामा रथारोहण सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिको आव्हानमा यहि भाद्र ६ गते पोखरामा कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

पोखराको वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव हुने भएको छ । श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँक्री प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले बताए ।

उक्त प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

उत्सवको पुर्व सन्ध्यामा विगत ३२ वर्षदेखी पोखरामा संचालन गरिदै आएको श्रीकृष्ण जन्माष्टमी शोभायात्रा यसवर्ष पनि पोखराको सभागृहचोक देखी कोमागाने पार्कसम्म गरिने छ ।  पछिल्लो समय विभिन्न क्षेत्रबाट नेपाली संस्कार संस्कृति तथा मौलिक पर्वहरु माथी प्रहार गरि सामुदायीक विभाजनको प्रयास भैरहेका प्रति विश्व हिन्दु महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलले चिन्ता व्यक्त गरिन् । संस्कार र संस्कृति नरहे मानव समुदायको अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै उहाँले यसको संरक्षण, विकास र प्रवर्द्धन आमसमुदायको दायित्व हुने बताइन।

सनातन धर्मको रक्षाका खातिर पनि श्रीकृष्णाष्टमी जस्ता मौलिक पर्वहरुको जर्गेना जरुरी रहेकामा उहाँले जोड दिनुभयो । विश्व हिन्दु महासंघ पोखरा नगर कमिटिकी अध्यक्ष सविना क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button