आजको राशिफल : २०७६ भदौ ०६ गते शुक्रबार

पोखरा न्यूज- ०६, भदौ ।  आज वि.सं. २०७६ भाद्र ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट २३ तारिख,
भाद्रपद कृष्ण (गुँलागा) अष्टमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, ध्रुव योग, बालब र कौलव करण
आजको चाडपर्व र उत्सव : श्री कृष्ण जन्माष्टमी व्रत, अष्टमी व्रत, मोहरात्री, गौरा पर्व, गोरखकाली पूजा, मन्वादि, दूर्वाष्टमी, डोलेश्वर उत्सव
भोलिको चाडपर्व र उत्सव : श्रीकृष्णयात्रा, रामेछापको चिसापानीमा हिले जात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी यात्रा, डोटी सिलगढीमा मष्टजाँत, विभिन्न कृष्णमन्दिरमा राधाकृष्ण रथयात्रा, ललितपुरमा भीमयात्रा, गूँगा नवमी

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२८ देखि १२:०६ सम्म
यमघण्ट : दिउँसो ०३:२० देखि ०४:५७ सम्म
गुलिक काल : बिहान ०७:१४ देखि ०८:५१ सम्म
रोग वारवेला : दिउँसो ०१:४३ देखि ०३:२० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०६ देखि ०१:४३ सम्म
अमृत वारवेला : बिहान ०८:५१ देखि १०:२८ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिन सक्छ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ, किनकि आज साझेदारको भर पर्नु हुँदैन । दाम्पत्य जीवनमा चिसोपन बढ्नाले फकाउने र फुस्ल्याउने काममा समय बित्ने सङ्केत छ, त्यसैले बेलैमा स्थिति नियन्त्रणमा लिनु पर्छ । जीवनसाथीलाई समय दिनु र सानो घरायसी भ्रमणमा निस्कनु राम्रो हुन्छ । मनोरञ्जनात्मक क्षेत्र र सँगीसाथी हानिकारक बन्न सक्छन् ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चतुर्थ चन्द्र भए पनि दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button