पवित्र पर्व तीजको मौलिकता खस्किँदै

काशीराम शर्मा, पोखरा न्यूज – ०८, भदौ । नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-५ की मनकुमारी शाहीले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्छिन , “म सानो छँदा गाउँघरमा दिदीबहिनी भेला भएर मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ ।”

विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ । मनकुमारी सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झदै भन्छिन , “खै आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजमा उच्छृङ्खल, तडकभडक र देखासिकी धेरै छ ।”

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन नहुँदा मनकुमारी मात्र होइन नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बर्दिया घर भई हाल नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छायाँ खड्काले पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दाबी गरिन।

सानोमा दर खान पाइन्छ भनेर नै तीजको व्रत बस्ने गरेको बताउँदै छायाँले भनिन, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने थलो भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।” नेपालगञ्ज-१ की अनिता बोहोरा पनि तीज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्उयाने खालका उच्शृङ्खल गीतको नियन्त्रण गर्नुपर्ने बताउछिन ।

“चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उनले भनिन । बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ । उनि भन्छिन  , “तीज जस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक बिदा दिनसके सबै परिवार बसेर मनाउनुको रौनक बेग्लै हुन्छ ।”

महिला दिदीबहिनीले आफ्नै वेषभूषामा सजिएर तीज पर्व मनाउनसके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ । परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । बाँके वनकटवाकी सुनिता थापा पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउछिन।

उनी भन्छिन , “विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । तीज आउनु एक महीनाअघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भई मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउने गर्दथे । पछिल्लो समययता तीज पर्वको मौलिकपन हराउँदै गइरहेको छ ।”

सुनिताले तीज पर्वलाई रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराको गीत नृत्यभन्दा धेरै महिला टिभी सिरियलप्रति आकर्षित भएको बताइन । बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीका लागि तीज पर्वको महत्व रहेको बताउछिन । तीज मनाउन अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउनका लागि अघि बढ्नुपर्ने उनको तर्क छ ।

“महिलाले तीज मनाउन पश्चिमा संस्कृति छोड्नुपर्ने बताउनुहुन्छ, बाँके बागेश्वरीकी नविना सापकोटा”, उनी भन्छिन , “आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । यसले नेपाली संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि उत्तिकै छ ।”

तीजमा विवाहिता महिला आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहिता महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउछिन, बाँके चिसापानीकी पवित्रा परियार । विगतमा महिलाहरुले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे ।

उनि भन्छिन , “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन ।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व नमेटियोस् भनेर सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button