सुनको मूल्य फेरी बढ्यो, प्रतितोला ७३ हजार ५ सय कायम

पोखरा न्यूज – ०९, भदौ ।  पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको छ । आइतबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य रु १० वृद्धि भई प्रतितोला रु ८६० पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला रु ८५० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान-अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button