भूटानलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक

पोखरा न्यूज – १२, भदौ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनिको च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।

भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० को  फराकिलो  गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ । भारत र बङ्गलादेशबीचको खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा मात्र बङ्गलादेश फाइनलमा पुग्नेछ । अन्यथा, नेपालले फाइनलमा आफ्नो यात्रा सुनिश्चित गर्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपालको जितमा कप्तान प्रदीप लम्सालले दुई गोल गरे । यस्तै असिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक गोल गरे । खेलको पाँचौँ मिनेटमा प्रदीपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको नवौँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो । खेलको ४८ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । त्यसैगरी खेलको ७५औँ मिनेटमा असिमले गोल गरे भने खेलको ८५औँ मिनेटमा क्रिसले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुगमले एक गोल थप्दै नेपाललाई ६–० को सहज जित दिलाए ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गर्न सफल भयो । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् जसमा श्रीलङ्का र भूटान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button