पोखरामा लामाचौर तिज महोत्सव शुरु

दीननाथ बराल, पोखरा न्यूज – १२, भदौ । गण्डकी प्रदेशका उप-सभामुख सृजना शर्माले नेपालीहरुको महान पर्व हरितालिका तिज पर्व नेपाली परम्परा अनुसार मनाउन आग्रह गरेकी छन्। लामाचौरको नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौं १६ गतेसम्म संचालन हुने महोत्सवको बिहिबार एक समारोह बिच उद्घाटन गर्दै उपसभामुख शर्माले तिज पर्वलाई नेपाली परम्परा अनुसार मनाउन आग्रह गरेकी हुन्।

उनले भनिन्“ पछिल्लो समयमा तिज केही भड्किलो भएको जनगुनासो सुन्नु परेकोछ, अब यसमा सबै महिला दिदी बहिनी तथा दाजु भाइले नेपाली परम्परा अनुसार तिजको मर्म र भावना अनुसार मनाउनु होला, यसलाई बढी भड्किलो नबनाउनु होला । ” विभिन्न संघ संस्थाहरुले तिजको अवसरमा मेला र महोत्सव रमाइलोको लागि गरेको बताउदै उनले समाजले तिज पर्वको अवसरमा आयोजना भएको महोत्सवले सामाजिक क्षेत्रमा समेत उल्लेखनिय रुपमा योगदान दिदै खेलकुदको विकासमा समेत टेवा पुर्याएको जनाइन्।

प्रदेश सांसद द्धय राजिव पहारी र रामजी बराल (जिवन), कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायतले नेपाली नारीको महान पर्व हरितालिका तिज पर्वलाई महिलालाई शसक्त्तिकरण गर्न सक्ने गरी मनाउन सुझाव दिए । समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

महोत्सवको अवसरमा आयोजित १० किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगितामा एपिएफका ओम जिसीले उपाधि जितेका छन्। जिसीले निर्धारित दुरी ३३ मिनेट ८ सेकेण्डमा पार गरी उपाधि सहित नगद १० हजार हात पार्न सफल भएका हुन्। विनोद गुरुङले ३३ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गरी दोस्रो हुँदा पुलिसका अनिल विकले ३५ मिनेट ३५ सेकेण्डमा दुरी पपार गरी तेस्रो भएका हुन् । दोस्रो हुनेले ७ हजार, तेस्रो हुुनेले ५ हजार र शान्त्वना भएका दिलिप बुढाथोकीले ५ हजार पुरस्कारको साथमा शिल्ड मेडल तथा प्रमाण- पत्र जितेका हुन्।

त्यसैगरी बिहिबार देखि अन्तर विद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । बिहिबार भएको खेलमा विन्ध्यवासिनी माविलाई कास्की मोडनाइज ‘बी’ले वाकओभरमा सहज जित दिएको छ । करुणा निधी एजुकेशन फाउण्डेसनले न्यू ग्यालेक्सि एकेडेमीलाई २५-१९, २५-१० को सोझो सेटमा पराजित गरेको हो । अर्को खेलमा सृजना माविले इन्द्रराज्य लक्ष्मि माविलाई २५-२३, २५-२० को सेटमा पन्छायो । कास्की मोडनाइज ‘ए’ले गोर्खा बोर्डिङलाई २५-१७, २५-२१ को सोझो सेटमा पराजित गर्यो । टप्स माविले विन्ध्यवासिनी माविलाई २५-१७, २५-१० को सोझो सेटमा हरायो ।

त्यस्तै ५ किलोमिटर छात्रा दौडमा गौरी शंकर माविकी ओम माया थगामीले उपाधि जितिन । उनले निर्धारित दुरी २३ मिनेट २६ सेकेण्डमा पार गरेकी हुन्। प्रतियोगितामा एरोविक ट्रेनिङ सेन्टरकी प्रतिक्षा सुवेदी दोस्रो र जेएमसीकी सुनिता भट्टराई तेस्रो भइन्। गत बर्षमा इन्द्रराज्य लक्ष्मि माविबाट एसइइमा उत्कृष्ट अंक ल्याउने नारायण श्रेष्ठ र मनिसा गुरुङलाई महोत्सव उद्घाटनको अवसरमा सम्मान गरियो । “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ आयोजित महोत्सवमा बैंकिङ, रेष्टुरेण्ट, वाल उद्यान, लगायतका करिब ४० वटा व्यापारिक स्टलहरु रहेको समाजले जनाएको छ ।

पोेखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी बल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ । भदौं १४ देखि १६ गतेसम्म संचालन हुने प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता हुने समाजले जनाएको छ ।

प्रतियोगितामा एपिएफ सहित, नेपाल प्रहरी क्लब, न्युडाईमण्ड एकेडेमि, चितवन टाईगर्स क्लब जावलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाण्डौ र पश्चिमाञ्चल भलिबल टिम सहभागि हुने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उप-विजेतालाई ६५ हजार ५ रुपैया र तेस्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्षेत्रीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । खेल अवलोकनको लागि दर्शकले क्वाटर फाईनलको एक सय, सेमिफाईनलको दुई सय र फाइनल खेलको तीन सय रुपैया शुल्क तिर्नुपर्नेछ । भलिबल खेल संचालन गर्नको लागि समाजलाई करिब १९ लाख जसो आर्थिक भार हुने गरेको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति, एवं विभिन्न विद्याका श्रष्टा सम्मान जस्ता कार्यक्रम रहने सांस्कृतिक संयोजक दील बहादुर थापाले बताए । डिस मिडिया प्रालि प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button