सहारा एकेडेमीलाई सहयोग गर्न तत्पर छु: सदस्य सचिव शिलवाल

दीननाथ बराल, पोखरा न्यूज – १५, भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै एकेडेमीको लागि आवश्यक सहयोग गर्ने बताएका छन्। सहारा क्लबको प्रयासलाई सफल पार्न सबैलाई आग्रह गर्दै सदस्य सचिव शिल्वालले आफ्नो क्षेत्रबाट एकेडेमीको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको बताएका हुन्।

एडकेडेमीमा रहेका बालकहरुको प्लस टु पछिको अध्ययनको लागि आवश्यक सहयोग गर्ने उनले वचन दिए । सहारा एकेडेमीका बालकहरुलाई लक्षित गर्दै उनले भने “ एउटा खेलबाट, पढाइबाट अनुसासनबाट तिमीहरुले आफुलाई प्रमाणित गरेर देखाउनुपर्छ, एकेडेमीबाट बाहिर गए पनि पनि पुनः एकेडेमीमा जाने आउने गर्नुपर्छ । ” सहारा एकेडेमी निकै रमणिय र फरकिलो क्षेत्रमा भएकाले प्रशिक्षको लागि उपयुक्त स्थल हुन सक्ने राखेप सदस्य सचिव शिल्वालले बताए ।

उनले भने “ सहारा एकेडेमीको बारेमा धेरै पत्रपत्रिका सहितका विभिन्न संचार माध्ययमा सुन्दै आएको थिए तर आज एकेडेमीमा आउदा मेरो एउटा इच्छा पुरा भएको छ, निकै व्यवस्थित छ, खेल मैदान छ, पोखरामा दुर्लभ जग्गा भएको अवस्थामा २६ रोपनी क्षेत्रफलमा एकेडेमीमा हुनु आफैमा निकै राम्रो हो । ”

काठमाण्डौंको दुषित ठाउँबाट समेत विभिन्न खेलको प्रशिक्षण गरेको उल्लेख गर्दै उनले पोखराको सुन्दर ठाउँमा प्रशिक्षण हुनुले थप राम्रो प्रशिक्षण हुने विश्वास व्यक्त गरे । मन्दिरमा गएर धर्म गर्नु भन्दा यस्ता सामाजिक काम गर्नु ठुलो धर्म हुने उनको भनाई थियो । खेलकुदको विकासको लागि धेरै प्रतियोगिता गर्नु पर्नेमा उनले जोड दिए ।

पोखरा फुटबल स्टेडियमको केही भागहरु खुल्ला हुने हुँदा मार्सल आर्टसका खेलहरु समेत गर्न सकिने उनले बताए । पोखरामा प्राकृतिक वातावरण राम्रो हुनुको साथै यहाँ खेल भावना राम्रो भएको सदस्य सचिव शिल्वालले जनाए । नेपालमा दर्शक अभाव ठुलो समस्याको रुपमा भने उल्लेख गर्दै उनले लोकप्रिय खेलमा शुन्य जस्तै दर्शक हुनु उपयुक्त नभएको बताए ।

दर्शक बढाउन पनि डिजिटल प्रविधि तथा संचार माध्यमलाई प्रयोग गर्नुपर्ने उनले बताए । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि दर्शक बढाउने गरी व्यस्थापन गर्न राखेप सदस्य राजेशकुमार गुरुङलाई सदस्य सचिव शिल्वालले आग्रह गरे ।

राखेपका सदस्य सचिव शिल्वाल, राखेपका सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यूकेका महेश गुरुङ, मुछेत्र गुरुङ, धनु थकाली लगायतलाई एकेडेमीमा फुलमालाले स्वागत गरिएको थियो । क्लबका अध्यक्ष केशबबहादुर थापाले क्लबको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा-१७ मा हाल १६ जिल्लाका २४ जना बालकहरु रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button