भ्रमण वर्ष २०२० सफल पार्न बागलुङमा पदयात्रा

पोखरा न्यूज – १५, भदौ ।  ‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवर्द्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो ।

पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवर्द्धनका लागि बागलुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटदेखि धम्जासम्म पैदलयात्रा गरिएको छ । बागलुङको पर्यटकीय स्थलहरुलाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा हुँदै धम्जासम्म शनिबार पदयात्रा गरिएको छ । पदमार्गले बागलुङ नगरपालिका-६ र ७, बेनी नगरपालिका-२, काठेकोला गाउँपालिका–१, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानहरुलाई समेटेको छ ।

धौलागिरि पर्यटन प्रवर्द्धन समितिको आयोजना तथा सरोकारवालाहरुको सहयोगमा पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा पर्यटनमा रुचि राख्ने झण्डै १५० जनाको सहभागितामा करीब २५ किलोमिटर पदयात्रा गरिएको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय गन्तव्यको विकास, नयाँ गन्तव्यको पहिचान तथा भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउनका लागि एकदिने बृहत् पैदलयात्रा गरिएको धौलागिरि पर्यटन प्रवर्द्धन समितिका संयोजक खिमानन्द कँडेलले बताए । “पदयात्राले नेपालकै सय पर्यटकीय गन्तव्यका रूपमा रहेको पञ्चकोटलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्न ठूलो सहयोग पुग्नेछ”, कँडेलले भने, “पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा हुँदै धम्जासम्म पर्यटकीय चक्रपथ निर्माणका पहल हुनेछ ।”

पदयात्रामा काठेखोला गाउँपालिका निवासी सगरमाथा आरोही कृष्ण केसी, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापासहित पर्यटन व्यवसयायीको सहभागिता रहेको थियो । लुकेर रहेको पर्यटकीय स्थलहरुको पहिचानका लागि पदयात्राले ठूलो टेवा पुर्याउँदै भ्रमण वर्षमा पर्यटक भित्र्याउने लक्ष्यका साथ पदयात्रा गरिएको सगरमाथा आरोही केसीले बताए । पदयात्राले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका तथा बेनी नगरपालिकालाई पर्यटनको विकासमा सहयोग पुर्याउने भन्दै यस्ताखाले कार्यक्रमलाई निरन्तर सहयोग गर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

पञ्चकोटबाट पैदल यात्राको शुभारम्भ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरेका थिए । ११ बजे पञ्चकोटबाट हिँडेको पैदलयात्राको समूह झण्डै १० घण्टाको पैदलयात्रापछि शनिबार साँझ धम्जा पुगेको थियो । जिल्लामा थुप्रै पर्यटकीय गन्तव्यहरु भएर पनि विकास हुन नसकेको भन्दै यस्ता कार्यक्रमहरुको आयोजना गर्न थालिएको धौलागिरि पर्यटन प्रवर्द्धन समितिले जनाएको छ । पदयात्रापश्चात् आज बिहान धम्जामा आयोजना गरिएको पदयात्री, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिको भेलाले काठेखोला गाउँपालिका–७ रेशका वडध्यक्ष प्रेम लामिछानेको संयोजनमा धौलागिरि पर्यटन चक्रपथ विकास समिति गठनसमेत गरिएको छ ।

समितिले स्थानीय तहसँगको सहकार्यमा आगामी चैतसम्म पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा हुँदै धम्जासम्म पदयात्राका बारेमा सूचना, किलोमिटर, उचाइ तथा पदमार्गको विवरण उल्लेख काम गर्ने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button