म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँको पूर्वाधार निर्माण

पोखरा न्यूज – १६, भदौ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।

कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढाइएको भेटी र दाताको सहयोगबाट रु नौ करोडका विभिन्न पूर्वाधार निर्माण गरिएका छन् ।

मन्दिरमा चढाइएको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथि आवास गृह, संस्कृत पाठशाला, हवनकुण्डलगायत संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुदबहादुर केसीले बताए ।

सो स्थानमा प्रकट भएको शिवलिङ्ग, चक्रशिलामा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहेकाले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पण्डित भीमनाथ आचार्यले बताए  ।

विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नै रु २० लाखको लागतमा मन्दिर निर्माण गर्नुभएपछि गलेश्वरधाममा विकासले गति लिँदै आएको छ ।

यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरधामले स्वदेशी तीर्थयात्रीका साथै विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button