करीब १० बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

पोखरा न्यूज – १८, भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यही भदौ १६ गतेबाट शुरु गरेको गाँजा फडानी अभियानअन्तर्गत करीब १० बिघा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध गाँजा र ब्याड नष्ट गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रण गर्न ब्याडदेखि नै नष्ट गर्ने रणनीति लिएर सयौँ बिघामा लगाउन तयार पारिएको लागुऔषध गाँजाको लाखौँ बिरुवा र भर्खरै बेर्ना सारेर शुरु गरिएको गाँजाखेती नष्ट गरेको हो ।

जिल्लाका प्रहरी प्रमुख, उपप्रमुखसमेतको सहभागितामा शुरु गाँजा नियन्त्रण अभियानले पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–२ को आमडाँडा, कुडुले, कालीधाप आदि स्थानमा दल राखिएको गाँजाको ब्याड र लगाएको गाँजा खेती गरी २  बिघा १५ कट्ठा, वडा नम्बर ३ को लाउती, केराबारी, खहरे, बोतेरिन, रिखुती आदि क्षेत्रमा लगाइएको गाँजा ६ बिघा र वडा नम्बर ४ को बिमलटार, चौकीटार, घरकोट, लुथुरे, पंजनी आदि स्थानको १५ कट्ठामा लगाइएको गाँजा र करीब एक कट्ठामा लगाइएको गाँजाको ब्याड नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अभियान जारीनै रहेको र गाँजा नियन्त्रण अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । मकवानपुरको राक्सिराङ, कैलाशलगायतका गाउँपालिकामा लागुऔषध गाँजा तथा अफिमसमेतको खेती हुने गरेको तथा त्यसका लागि यो मौसममा बेर्ना तयार गर्ने गरेकाले ब्याड नै नष्ट गरेर किसानलाई अन्य वैधानिक खेतीपातीका लागि अग्रसर गराउन ब्याडबाटै नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए  । प्रहरीले गाँजाखेती नष्ट गर्ने अभियान जारी राख्ने जनाएको छ ।

प्रहरीले गाँजाखेती गर्ने किसानलाई निरुत्साहित बनाएर तरकारी तथा खाद्यान्न उत्पादनमा प्रोत्साहित गर्ने काम गरेको जनाएको छ । गाँजाको ब्याड नष्ट गर्न प्रहरी उपरीक्षक सिंहको नेतृत्वमा प्रहरी टोलीे मकवानपुरको राक्सिराङ गाउँपालिकाको लाउती, हाम्दुङलगायतको स्थानमा पुगेको थियो ।

प्रहरी टोलीले गाँजा खेती गर्ने किसानलाई सम्झाइबुझाइ छाडेको भए पनि आगामी दिनमा अटेर गरी फेरि ब्याड राखेको पाइएमा तथा गाँजाखेती गरेको पाइएमा कडा कारवाही गरिने चेतावनीसमेत दिएको छ । अबका दिनमा गाँजाखेती गरेको पाइए मालपोत तथा नापी कार्यालयको सहयोगमा जग्गाको धनी पत्ता लगाएर लागुऔषध खेती गर्नेलाई कानूनी दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

लागुऔषध नष्ट गर्न पुगेको प्रहरी टोलीले लागुऔषधविरुद्ध पर्चा पम्प्लेट आदि वितरण गर्नुका साथै स्थानीयवासीको घरदैलोमा पुगेर गाँजाखेती नगर्न अनुरोधसमेत गरेको थियो । चेतनामूलक कार्यक्रम सञ्चालन गरेर स्थानीयवासीलाई सचेत बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button