१ करोड ७५ लाख लागतमा कालिजपालन

पोखरा न्यूज – १९, भदौ । विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिक रूपमा कालिजपालन शुरु गरेको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार/व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहेका बनेपा नगरपालिका-१४ का ईश्वर राउतको करीब २१ रोपनी जग्गामा तारबार गरेर कालिजपालन शुरु गरिएको छ ।

जग्गा, कालिज तथा दाना खरीद, अन्य संरचना निर्माणमा हालसम्म रु १ करोड ७५ लाख खर्च भएको सञ्चालक उत्तर केसीले बताए । कालिजको मासुको माग अत्यधिक भएपछि व्यावसायिकरूपमै कालिजपालन शुरु गरेको उनले बताए । साठी कालिजबाट शुरु गरेका उनीहरुसँग एक हजार २ सय  कालिज रहेका छन् ।

बेल्जियमबाट अण्डा ल्याई नेपालमै ह्याचरीमार्फत कोरलेको चल्ला (कालिज) अहिले व्यावसायिकरूपमा पाल्न थालिएको हो । भीमेश्वर नगरपालिका-७ चरिकोटका केसी प्रतिकालिज रु ३ हजारदेखि रु ४  हजारसम्ममा बिक्री गर्ने गरेको बताउछन ।

पहिलो पटक पोखरामा व्यावसायिकरूपमा कालिजपालन गरेको देखेपछि साथीहरुसँग मिलेर व्यवसाय शुरु गरेको प्रालिका अध्यक्ष नवराज तिमल्सिनाले बताए । “एक वर्ष भित्र १५ हजारदेखि २० हजार कालिज पुर्याउने लक्ष्य छ”, उनले भने । उक्त समूहले कालिजसँगै बाख्रापालनसमेत शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button