वडाध्यक्षले गरे ७० हजारमा झोलुङ्गे पुल बिक्री

पोखरा न्यूज – २०, भदौ । नुवकोटको विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ ।

विसं २०२१ मा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका वासिन्दा दुखित बनेका छन् ।

कबाडीलाई शुरुमा रु तीन लाखमा बेच्ने हल्ला भएको र पछि रु ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । उनले भने,“पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’’

बेलकोटगढी-८ का वडाध्यक्ष पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर-५ का वडाध्यक्षले तपाईँको भाग भनेर पठाएको जानकारी दिए । उनले बेलकोटगढी नपा-८ र विदुर नपा-५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको पनि बताए ।

त्यस्तै विदुर-५ का वडाध्यक्ष शिवकुमारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे । ‘‘गल्छी-त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचेका हौँ”, उनले भने, “कबाडीलाई रु ७० हजारमा बेची रु ३५-३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ ।”

यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ । विदुर नगरपालिका प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button