कास्कीमा ६ सय ४९ डेङ्गु पीडित

पोखरा न्यूज – २०, भदौ । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६ सय ४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी दिए । बिरामी क्रमिकरुपमा सुधार भइरहेको जानकारी दिँदै उनले यस प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय एक व्यक्तिको ज्वरोले मृत्यु भएको छ । सो सम्बन्धमा अनुसन्धानका लागि टोली खटाइएको डा गौतमले बताए ।

रोगीको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि भएको कारणले डेङ्गु रोग पहिचानका लागि प्रयोग गरिने ‘टेस्ट किट’को अभाव हुन थालेको उनले जानकारी गराए । यो टेस्ट कीट सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा पोखरा महानगरपालिकाले विभिन्न वडाहरुमा टोली खटाइ डेङ्गु रोगबाट बच्न सचेतना जगाउन जुटेका छन् । सो टोली डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने लक्ष्यसाथ खटेका छन् ।

एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामको लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फुल पार्ने गरेकाले त्यसलाई नष्ट गर्ने, घोप्टाउने र सफा गर्ने कार्यमा सक्रिय छन् । यसका साथै सो रोगबाट बच्ने उपायको सम्बन्धमा पनि घरघरमा जागरुकता फैलाइरहेका छन् ।

लामखुट्टेले दिनमा टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगा लगाएर हिँड्नु पर्दछ । खासगरी, डेङ्गु फैलाउने लामखुट्टे बढीमा भुइँदेखि बढी तीन फिटसम्म मात्र उड्न सक्छ । खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा सो लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव रहेको छ ।

डेङ्गु रोग लागेका बिरामीलाई जाडोका साथै उच्च ज्वरो आउने, जीउ, हाडजोर्नी बेस्सरी दुख्ने र प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने गर्ने गरेको चिकित्सक बताउछन् ।

डेङ्गु रोगको बिरामीको समयमा उपचार भएपछि पूर्णरुपमा रोग निको हुने र बढी नआतिनुपर्ने विषयमा जानकारी गराउँदै डा गौतमले रोग लागेपछि हेलचक्रयाइँ नगरी उपचारमा केन्द्रित हुनुपर्ने बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button