पोखरा-२२ पुम्दी भुम्दीका ६८ प्रतिशत घरमा एक घर एक धारा

दीननाथ बराल, पोखरा न्यूज – २०, भदौ । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीमा हालसम्म ६८ प्रतिशत एक घर एक धारा जडान कार्य सम्पन्न भएकोे छ ।

पोखरा-२२ मा हालसम्म १ हजार ४ सय ८७ जना अर्थात ६८ प्रतिशतको घर-घरमा पिउने पानीको धारा जडान गरिएको पुम्दी-भुम्दी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजबहादुर गुरुङले बताए ।  उनका अनुसार पोखरा-२२ मा ७ सय ९ अर्थात ३२ प्रतिशत घर धुरीमा पिउने पानीको धारा जडान कार्य बाँकी रहेको छ । उनका अनुसार ९ सय ६० घर मा मिटर सहितको धारा जडान गरिएको छ ।

६८ प्रतिशत घरमा धारा जडान गर्दा १ करोड ३७ लाख १९ हजार ४ सय ५६ रुपैया खर्च भएको कोषाध्यक्ष कल्पना बरालले बताइन्। संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पोखरा महानगरपालिका, उपभोक्ता लगायतबाट रकम संकलन भएको कोषाध्यक्ष बरालले बताइन्।

आयोजना सफल पार्न करिब ५ करोड बजेटको आवश्यकता भएको प्राविधिक खडानन्द बरालले बताए । उनका अनुसार ठुलाढुंगा खानेपानी योजनामा ३ सय ५ घरमा एक घर एक धारा जडान गर्न बाँकी रहेको छ । १ करोड ५० लाख बजेट आवश्यक भएको संघिय खानेपानीका पूर्व प्राविधिक समेत रहेका बरालले बताए ।

पाउँदुर खाल्टा, महभिर खाल्से चिसापानी दोबाटे, खाँल्टेडाँडा, सिमलटारी, साइस्वरा, अनदु, सिम्ले, लामडाँडा, बाहुनडाँडा, फिलिङघारी लगायतका क्षेत्रमा ४ सय ४ घरधुरी रहेको जहाँ एक घर एक धारा जडानको काम बाँकी रहेको प्राविधिक बरालले बताए । उनका अनुसार पोखरा-२२ मा घर घरमा धारा जडान भएसंगै शुद्ध पिउने पानीको  व्यवस्था मिलाउन करिब १० करोड रुपैया आवश्यक पर्ने बताए ।

साविक पुम्दी-भुम्दी एकमा बस्ती बढ्दै जाँदा पानी अभावमा उपभोक्ताहरुले आलोपालो गरी पानीको प्रयोग गर्ने गरेको सचिव नवराज बरालले बताए । पोखरा-२२ मा करिब २ हजार २५ वटा मात्र घर भए पनि केही व्यवसायिक प्रयोजनको लागि, केही कृषि फार्मको लागि दुई/तीन वटासम्म धारा जडान गरेकाले गर्दा घरधुरी भन्दा बढी धारा जडान गरिएको सचिव बरालले जनाए । २०७२ सालदेखि पोखरा २२ मा एक घर एक धाराको अभियान शुरु भएको हो ।

यसैबिच, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले आगामी दुई बर्षमा प्रदेशका सबै जनतालाई पिउने पानीको सुविधा दिने गरी अघि बढेकोे बताए । उनले भने “ प्रदेश सरकारले अब एक बर्ष पछि सबैको घर घरमा धारा जडान भएसंगै शुद्ध पिउने पानीको समेत हामी  व्यवस्था मिलाउनेछौं, हाम्रो अभियानमा सवैले साथ र सहयोग गर्नुपर्छ । ”

प्रदेशमा सांसद द्धय रामजी बराल (जिवन) र राजिव पहारीले घर घरमा धारा जडान गरेसंगै शुद्ध पिउने पानीको व्यवस्था मिलाउने तर्फ आफुहरुले सकेको सहयोग गर्ने वचन दिएका छन्।

कार्यक्रममा  पुम्दी भुम्दीमा पिउनेपानी अभियानमा सुरु देखि हालसम्म महत्वपूर्ण सहयोग पुराएको भन्दै प्राविधिक खडानन्द बराल र इन्जिनियर शिवहरी आचार्यलाई सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मान पत्रको साथमा दोसला र फुलमालाले मन्त्री बस्नेतले सम्मान गरेका हुन्। उनीहरु दुबै जना नेपाल सरकार निजामति सेवाबाट निवृत्त भएकाछन्।

तस्बिर – गणेश बराल 

दुई वर्ष भित्रमा गण्डकी प्रदेशका सबै जनतालाई शुद्ध पिउने पानी : मन्त्री बस्नेत

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button