पोखरामा पर्यटन मजदुरलाई निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम

पोखरा न्यूज – २३, भदौ  नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालीम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए  ।

चिनियाँ पर्यटकले अङ्ग्रेजी भाषा नबोल्ने तथा नेपाली पथप्रदर्शकले उनीहरुको भाषा नबुझ्दा समस्या आइरहेको अवस्थामा अब पर्यटकसँग आफूहरु ढुक्कसँग कुराकानी गर्न सक्षम भएको तालीममा सहभागी विपीनराज सापकोटाको भनाइ छ ।

नेपालमा वार्षिक दुई लाख चिनियाँ पर्यटक नेपाल आउने तथ्याङ्क छ । नेपाल आएकामध्ये ९० प्रतिशत पर्यटकले पोखराको भ्रमण गर्ने गरेको दाबी पर्यटन व्यवसायीको छ । नेपालमा पथप्रदर्शक तथा सहयोगी गरी १२ हजार मजदुर पर्यटन क्षेत्रमा क्रियाशील रहेको युनिट्राभले जनाएको छ ।

गत साउन १८ गतेदेखि शुरु भएको तालीममा आधारभूतमा ३५ र ‘एडभान्स’मा २५ जना गरी ६० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई दिनेश गौतमले चिनियाँ भाषाको प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालीम समापन समारोहमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले पर्यटन विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए  ।

देशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनिवार्य रहेको भनाइ मन्त्री लम्सालको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button